0
नेपालमा वि.सं. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले वर्माबाट बिउ ल्याएर कफी खेतीको शुरुवात गरिएको थियो । यसैक्रममा पाल्पा, स्याङजा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदी जिल्लाहरुमा कफी खेतीको बिस्तार हुँदै गयो । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा अराविका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, पयूठान, रोल्पा दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायीक कफी खेतीको शुरुवात भएको छ । यि वाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लाहरुमा फाटफुट रुपमा कफी खेती भैरहेको छ ।
नेपालको विषेशतः मध्य पहाडी जिल्लामा कफि खेती गरिबी निवारण, रोजगारी सृजना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रुपमा स्थापित हुँदै आएको छ । हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाउँसम्म लगाईएको कफी गुणस्तरीय कफिको रुपमा उत्पादन भई विदेश तर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफिको माग दिनानुदिन बढ्दै गई राखेको परिप्रेक्षमा कफि उत्पादन क्षेत्रको बिस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ ।
नेपालमा अहिले करिब गरी ३ हजार कृषकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कफी खेतीमा लागेका छन् । २०७२को उत्पादन रेकर्ड अनुसार कुल १ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा करिव ४५० मे. टन ग्रीन वीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाव नै गर्ने हो भने बार्षिक १० हजार मेट्रिकटन भन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको ५ प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन । नेपाली कफी निर्यातवाट बार्षिक करिव साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकहरुबाट ९ करोड बरावरको विभिन्न ब्राण्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानिक कफीको माग बढीरहेको छ ।
कफी विकासका र चरण तथा सरकारका प्रयास
नेपालका केही जिल्लामा कफी खेतीको सम्भावना देखिएपछि २०३३ सालमा नेपाल सरकारले कृषि विकास बैक मार्फत भारतवाट अरेबिका जातको कफीको बिउ मगाई गुल्मी र बागलुङ जिल्लामा व्यवसायीक कफी खेतीको शुरुवात गराएको थियो । नेपालमा कफी खेतीको विस्तार एवं विकास गर्नको लागि सरकारले २०४१ सालमा गुल्मीको आँपचौरमा कफी बिकास केन्द्रको स्थापना गर्नुको साथै २०५० सालमा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको साथै कफी तथा चिया विकास शाखा स्थापना भएपछि मात्र नेपालमा कफी खेतीले प्राथमिकता पाएको थियो । सरकारी क्षेत्रवाटै कफी खेतीलाई प्राथमिकतामा राखि कफीको विस्तार एवं विकास हुने क्रम बढ्दै गयो । सम्भावनाको हिसावले नेपाल अरेविका जातको कफी खेतीको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । किनकी कुनै पनि कृषि उत्पादनको लागि मुख्य तथा ५ महत्वपूर्ण कुराहरु आवाश्यक पर्दछ र ति सबै कुराहरु नेपालका मध्य पहाडी सबै जिल्लाहरुमा सजिलै उपलव्ध छन् । तर यसको वारेमा जानकारी नहुँदा कस्तुरी हराएको मृग जस्तै बनिरहनु परेको अवस्था छ । हेरौ यि पाँच महत्वपूर्ण कुराहरु के के हुन् ।
१. भौगोलिकताः नेपालमा बिविध किसिमको भौगोलीक बनावट तथा हावापनी भएको हुँदा संसारका जुनसुकै देशमा लगाउन सकिने जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ । साथै भौगोलिक हिसावले हेर्ने हो भने नेपालको मध्य पहाडि जिल्लाको ८ देखि १७ सय मिटरसम्मको उचाईसम्म अराविका जातको कफी खेती गर्न सकिन्छ । अराविका जातको कफी खेतीका लागि आवाश्यक पर्ने ७० देखी ८० प्रतिशत सापेक्षिक आद्रता, १६०० देखि २५०० मिलिमिटरसम्म बर्षा र कम्तीमा १० देखी १२ घण्टा घाम लाग्ने र १५ देखी २५ डिग्रि सेन्टीग्रेड तापक्रम, अधिकासं उत्तर–पुर्बी र दक्षिण–पूर्वी मोहडा यहि भौगोलिक क्षेत्र भित्र पाईन्छ । नेपालका सबै पहाडी जिल्लाहरुमा कृषि लगायत ग्रामिण सडकका साथै यातायात संजालको बिकास हुने क्रम बढ्नुको साथै पछिल्लो समयमा सरकारका बिभिन्न कार्यक्रम अन्र्तगत सिंचाई, बिजुली सबै ठाउँमा पुगीसकेको कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।
२. प्रबिधि
प्रबिधिको हिसावले पनि अहिले नेपालमा नेपाल कफी व्यवसायी महासंघको प्रयासमा विभिन्न सरोकारवाला संघ संस्था, सहयोगी निकाय, दातृसंस्था तथा नेपाल सरकारका सरोकारवाला कार्यालयहरु सँगको समन्वयमा कफी पकेट क्षेत्र मानिएका बिभिन्न जिल्लाका करिब ३ सय भन्दा धेरै कफी प्राबिधिकहरु उत्पादन गरि सकेको अवस्था छ । नेपालमा कफी खेतकिो राम्रो सम्भावना देखेपछि धेरैले कफीमा विद्यावारिधि समेत गर्दैछन् । यो नेपालका लागि र नेपालमा कफी खेतीको विकासका लागि एउटा राम्रो पक्ष हो । प्रबिधिकै सन्दर्भमा कुरा गर्ने हो भने सूचना तथा संचार प्रविधिको विकासको कारण अहिले जो कोहिलाई पनि जुनसुकै ज्ञान हासिल गर्न समस्या देखिदैन ।
३. लगानी
जुनसुकै व्यवसाय संचालन गर्नका लागि पूँजी महत्वपूर्ण कुरा हो । पँुजी बिना व्यवसायीकताको कल्पना समेत पनि गर्न सकिदैन । नेपाल राष्ट्र बैकले नेपाल सम्पूर्ण बैक तथा बित्तिय संस्थाहरुलाई कुल लगानीको १५ प्रतिशत रकम कृषि क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने निति बनाएको छ । तर बैक तथा बित्तिय संस्थाहरुले कृषिमा लगानी गर्ने भरपर्दो माध्याम फेला पार्न सकिरहेका छैनन् । अर्को राजधानी शहर देखी गाउँ गाउँ सम्म सरकारी संस्थाहरु छ्यापछ्याप्ती खोलिएका छन् । ति सहकारीहरुले पनि लगानीको भरपर्दो क्षेत्र भेटाउन सकिरहेको अवस्था छैन । त्यतिमात्र होईन बेला बेलामा बिभिन्न बैकहरुले शेयर खुल्ला गर्दा शेयर किन्नेको लाम नै लाग्दछ । यसले के देखाउँछ भने नेपालको कृषि क्षेत्र अथवा तोकेरै भन्नु पर्दा कफी खेतीको लागि ऋण दिने वा लगानी गर्ने निकायहरु जति पनि पाईन्छन् । तर यसतर्फ कसैले पनि ध्यान दिएको पाईदैन ।
४. बजार
कुनै पनि उत्पाीदत बस्तुको बजार सबैभन्दा महत्वपुर्ण कुरा हो । उत्पादीत बस्तुको बजार भएन भने सबै कुरा निरर्थक हुन्छ । नेपालमा उत्पादन गरिने अरेविका जातको कफी सबैभन्दा महंगो र गुणस्तरीय कफी हो । उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ । पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं स्तरिय होटलमा नेपाली अर्गानिक कफीको प्रयोगको कारण नेपालको कफीले नेपाली बजारलाई पनि धान्न नसकेको अवस्था छ । यसको साथै नेपालमा खुल्दै गएका कफी कम्पनीको कारण पनि उत्पादीत कफी बिदेशमा नै पठाउनु पर्छ भन्ने छैन । हुन त नेपालमा उत्पादित कफी मध्ये करिब ६० प्रतिशत निर्यात हुन्छ र ४० प्रतिशत मात्र नेपालमा खपत हुने गरेको छ ।
नेपालमा उत्पाीदत कफी बिदेश निर्यात भए पछि नेपाली बजारको लागि भारतवाट वा इटालियन कफीको आयात भैरहेको अवस्था छ । पछिल्लो रेकर्ड अनुसार नेपालमा बार्षिक ४५० मेट्रिक टन कफी उत्पादन हुन्छ भने आन्तरिक तथा बह्य मागलाई हेर्ने हो भने १० हजार मेट्रिक टन भन्दा बढीको बार्षिक माग भैरहेको पाईन्छ । यसवाट के बुझ्न सकिन्छ भने उत्पादीत कफीको लागि आहिले मात्र होईन वर्षौं वर्षसम्म पनि बजारको अभाव देखिदैन ।
५. श्रम
कुनै पनि बस्तु तथा सेवाको व्यवसायीक उत्पादनको लागि श्रम एक महत्वपुर्ण पक्ष हो । श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन । रोजगारको नाउँमा नेपालवाट बर्षेनी लाखौ युवा शक्तिहरु बिदेश पलायन भैरहेका छन् । यसरी बिदेश पलायनको कारण नेपाली उत्पादनमा निकै ठूलो ह्रास आएको छ भने घरको मुली अथवा छोराहरु नै विदेशिएपनि घर परिवारमा बिबिध समस्याहरु समेत देखिएका छन् । यहि व्यवसायीक कफी खेतीको शुरुवात गर्ने हो भने बाध्यतावस बिदेश पलायन हुनेहरुको लागि एउटा महत्वपुर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठुलो टेवा मिल्ने देखिन्छ । धेरै देशहरुले अन्य मुलुकवाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउँछन् भने हाम्रो देशमा आफ्नै नागरिक सँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन ।
माथिका ५ तथ्यवाट के कुराको प्रष्ट हुन्छ भने हामिले एक पटक गम्भीर भएर सोच्यांै भने कफी खेतीवाट आफू व्यवसायिक हुने मात्र होईन देशका बेरोजार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ । स्वेदशमै बसेर पनि बिदेशी धन आर्जन गरि देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई सम्बृद्ध बनाउनका लागि कफी खेतीले ठूलो सहयोग गर्दछ ।

Post a Comment

 
Top