0
यसै साताको थालनी एउटा माओवादी घटकले आह्वान गरेको बन्दबाट भएको थियो । बन्दका क्रममा जनजीवन त्रस्त, आतंकित र अस्तव्यस्त भयो । निजी र सार्वजनिक गाडी तोडफोड गरियो । त्यसपछि माओवादीकै अर्को घटकसँग सम्बद्ध विद्यार्थी संगठनले काठमाडौं विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड ग¥यो ‘सगर्व’ घोषणा पनि ग¥यो । मंगलवार रौतहटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध नारावाजी गर्ने मधेसी दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भएको छ । यी सबै राजनीतिसँग सम्बन्धित संस्था वा व्यक्तिबाट भए गरिएका र नेपालमा सामान्य लाग्ने घटना हुन् । तर, यस्ता घटनाका कारण मुलुकको छवि बिग्रनेमात्र हैन नेपाली समाजमा विकृति नै संस्कृतिका रूपमा स्थापित हुने जोखिम बढेको छ । हुनत, नेपाली समाजका सबै वर्ग र समुदायमा व्यावसायिक धर्म छाड्नै बहुमत देखिन थालेको छ । सामन्ती संस्कारमा चरम उपभोक्तावादी प्रवृत्तिको ‘फ्युजन’ ले नेपाली समाजलाई संस्कारगतरूपमै क्षयोन्मुख बनाउँदै लगेको छ । संस्कारगत विकृति सबैभन्दा धेरै राजनीतिमा देखिन्छ । यसैले अरू क्षेत्रबाट पनि अपसंस्कार हट्ने वा कम हुने अपेक्षा गर्न सकिँदैन । किनभने, संस्कारमा सुधार हुन नेपालीजस्तो परम्परागत समाजमा शासकीय आचरण आदर्श हुनुपर्छ । र, शासनलाई सही बाटामा डोर्रुयाउने राजनीतिले नै हो । तर, नेपालका राजनीतिक दलका नेताहरूले भने राजनीतिको अर्थ र उद्देश्य नै फरक पर्नेगरी विचार र व्यवहार प्रस्तुत गरेका छन् । राजनीतिक आवरणमा हुने ‘ब्ल्याकमेलिङ’ र असहिष्णु व्यवहार सबै राजनीतिक दलका साझा प्रवृत्ति बनेका छन्। राजनीतिक आवरणमा हुने अपराध दण्डहीन हुनुपर्छ भन्ने कुविचार यस्तै नेताहरूको मूल मानसिकता बनेको छ । माथिका घटना त प्रतिनिधिमूलक दृष्टान्तमात्र हुन् । लोकतन्त्रमा सबैको विरोध गर्न पाइन्छ । आफ्ना कार्यसूचीमा जनसमर्थन जुटाउन प्रचारप्रसारका विभिन्न विधि र उपाय अपनाउन पनि पाइन्छ । बन्द र हड्ताल पनि आह्वान गर्न पाइन्छ । यस्ता सबै स्वतन्त्रता संविधानबाटै सुनिश्चित गरिएका हुन्छन् । सरकारकै विरोधमा आयोजना गरिएको विरोध प्रदर्शनमा समेत राज्यले नै प्रदर्शनकारीको स्वतन्त्रताको सुरक्षा गर्नुपर्छ । तर, यी सबै काम शान्तिपूर्वक र अरूको हक हनन नहुने गरी भए गरिएमा मात्र राज्यले स्वतन्त्रताको रक्षा गर्छ । अरूको निजी वा सार्वजनिक स्वतन्त्रता र सुरक्षामा प्रतिकूल प्रभाव पर्नेबित्तिकै विधिको शासन भएको मुलुकमा कानुन बमोजिम कारबाही हुन्छ । अनिमात्र शासन पद्धति लोकतन्त्र कहलिन सक्छ । नेपाली समाज सचेत र लोकतान्त्रिक हुँदो हो त जबर्जस्ती थोपरिएको बन्दको अवज्ञा गर्दै सडकमा उत्रेर आवागमन लगायत स्वतन्त्रताको रक्षा गर्ने्थियो । सरकारले बलपूर्वक बन्द गराउने र त्रास फैलाउनेहरूविरुद्ध कानुनी कार्बाही गर्नेथियो र सार्वजनिक तथा व्यक्तिगत क्षतिको पूर्ति बन्दकर्ताबाट गराउने थियो । त्यसैगरी, काठमाडौं विश्वविद्यालयका उपकुलपतिको कार्यालयको तोडफोड नेपालको कानुनअनुसार सरकारवादी फौजदारी कसुर भएकाले सत्तारुढ माओवादी केन्द्रसँग सम्बद्ध विद्यार्थी संगठनमाथि प्रहरीले आफैँ नै कारबाही सुरु गर्थ्यो । रौतहटका निर्वाचित सांसद पनि हुन् माधवकुमार नेपाल । उनलाई जिल्लामा निर्वाचन क्षेत्र सम्बन्धी विषयमा बैठक गर्दा अवरोध गर्नु लोकतान्त्रिक आचरण मान्न सकिँदैन । आफ्नो पक्षबाहेक अरूलाई निषेध गर्ने अधिनायकवादी प्रवृत्ति अहिले मधेसी दलका नेता कार्यकर्तामा बढी नै देखिँदै गएको छ । कम्युनिस्टहरू प्रकारान्तरले ‘फासिस्ट’ शैलीमा दीक्षित हुन्छन्। सैद्धान्तिक जग नभएकाले हो कि मधेसी दलका नेता कार्यकर्तामा पनि फासिस्ट प्रवृत्ति प्रतिको मोह बढ्दै गएको छ । अधिनायकवादीहरूले यस्तै अराजक अवस्थालाई पिछडिएको समाजमा लोकतन्त्र अभ्यासमा आउन सक्तैन भन्छन् । तर, लोकतन्त्रको जग निरन्तरको प्रयोगमा बसेको हुन्छ । लोकतान्त्रिक संस्कारको विकास भएमा अधिनायकवादीको मनोरथ स्वतः भग्न हुन्छ । यसैले राजनीतिक अपसंस्कारको दूरगामी दुष्प्रभावबाट समाज र मुलुकलाई बचाउन नागरिक स्वयं सततः जागरुक हुनुपर्छ । स्वतन्त्रता निकै महंगो पो हुन्छ त ।

Post a Comment

 
Top