0
गोल्डेन न्यूज संवाददाता
पोखरा बहुुुमुखी क्याम्पसले ३० औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सव अवसरमा क्याम्पसको साताब्यापी कार्यक्रम मंगलबार पुरा भएको छ । वार्षिकोत्सव समापन कार्यक्रमका वक्ताहरुले सामुदायिक क्याम्पसलाई सबैको साथ र सहयोगको जरुरी रहेको बताए । कार्यक्रम समापनको अवसरमा मंगलबार क्याम्पसका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरियो । त्यस्तै विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट हुने विद्यार्थी टिमलाई समेत पुरस्कार प्रदान गरिएको छ । वार्षिकोत्सवका अवसरमै स्नातकतह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत पनि गरिएको छ । वार्षिकोत्सव समापन कार्यक्रमका प्रमुृख अतिथि पब्लिक क्याम्पस संघ कास्की अध्यक्ष ऋषिराम बुढाथोकीले सामुदायिक क्याम्पसले शैक्षिक क्षेत्रमा पु¥याएको योेगदानको चर्चा गरेका थिए । ‘सामुदायिक क्याम्पसले धेरै शैक्षिक जनशक्ति उत्पादनमा सघाएका छन् । त्यसमा पोखरा बहुमुखी क्याम्पसको योगदान अब्बल रहेको छ,’ उनले भने–‘निजी क्याम्पसले चर्काे शुल्क लिएर विद्यार्थीलाई अध्यापन गराएकोमा सामुदायिक क्याम्पसले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिएका छन् । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने सामुदायिक क्याम्पसलाइ श्रोत साधनले बलियो बनाउनुपर्ने उनले बताए । ‘निजी शैक्षिक संस्थासँगै सामुदायिक संस्था पनि अब्बल छन् । मात्र सामुदायिक संस्थालाई समुदायको सहयोगको खाँचो छ,’ उनले भने । कार्यक्रममा क्याम्पस प्रमुख सुनील मर्सानीले संख्यात्मक भन्दा पनि गुणात्मक जनशक्ति उत्पादनमा संस्था लागिपरेको बताए । ‘हामी किताबी ज्ञानमा मात्र नभई विभिन्न विषयगत तालिम, गोष्ठि, भ्रमणसँगै व्यवहारिक कक्षामार्फत अब्बल जनशक्ति उत्पादन गर्न लागिपरेका छौं,’ उनले भने, ‘त्यसले क्याम्पसको नतिजामा पनि सकारात्मक प्रभाव पारेको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुलाई धनिराम बराल छात्रवृत्ति, विद्यारत्न, रुककुमारी, लक्ष्मी समुह, गणेश गुरुङद्वारा स्थापित समीर महिमा तथा पश्चिमाञ्चल अटो मोवाइलट डिलर्स एशोसिएनले स्थापना गरेको मीन अक्षयकोष छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै वार्षिक परीक्षामा उत्कृष्ट हुुने विद्यार्थीलाई पनि सोही अवसरमा पुरस्कृत गरियो । कार्यक्रममा क्याम्पस संचालन समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले आफ्नो कार्यकालमा क्याम्पसलाई अझै उत्कृष्ट बनाउन लागिपर्ने बताए । क्याम्पस अहिलेसम्म उत्कृष्ट छ । भविष्यमा पनि यो शैक्षिक संस्थालाई थप उत्कृष्ट बनाउन हामी सबै लागि पर्नेछौं,’ शुभकामना दिँदै बाँस्तोलाले भने, ‘त्यसमा समुदायको पनि पूर्ण रुपमा सहयोग आवश्यक पर्नेछ ।’ वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक पुष्पराज अधिकारी र कर्मचारी अन्तिम पौडेललाई पनि पुरस्कृत गरिएको छ । कार्यक्रममा व्यवस्थापन समिति सदस्य मुना बाँस्तोला, शिक्षासेवी गशेण गुरुङ, पोखरा–९ का सचिव लोकदर्शन कोइराला, त्रिवि प्रतिनिधि डा. यामनाथ तिमिल्सेना, प्राध्यापक संघका सभापति हस्तबहादुर थापा, कोषाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष जगत केसी लगायतले शुभकामना दिएका थिए । यो पोखराकै पहिलो सामुदायिक क्याम्पस हो । क्याम्पसमा अहिले स्नातक तहसम्म अध्यापन हुन्छ । मानविकी र व्यवस्थापन संकायमा अध्यापन हुने क्याम्पसमा अहिले करिब ५ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । २०४४ सालमा स्थानीय समुदायले बगरमा स्थापना गरेको यो क्याम्पस केहीवर्षपछि नयाँबजारमा सारिएको थियो ।


Post a Comment

 
Top