0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस कास्कीले शुक्रबार स्थानीय तह पुनर्संरचना सम्बन्धी एकदिने कार्यशाला गरेको छ । आफ्ना कार्यकर्ताहरुलाई स्थानीय तहको पुनर्संरचनाका बिषमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।कार्यक्रममा २ सय भन्दा बढी अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा राज्य पुनर्संरचना आयोगका सदस्य डा. श्यामकृष्ण भुर्तेलले स्थानीय तहको महत्व र यसका चुनौतिहरुका बिषयमा सहजीकरण गरेका थिए । उनले जतिसक्दो कम तह बनाउनुपर्नेमा जोड दिए ।
 
राज्यको आर्थिक भार बढ्ने भन्दै थोरै संरचना भए काम गर्न पनि सहज हुने बताए । अधिकार प्रत्यायोजनका हिसावले स्थानीय तह निकै खर्चालु भएको उनको भनाई छ । उनले राजनीतिक स्वार्थ भन्दा जनतालाई अधिकतम सहजता हुने गरी संरचना तयार गर्न सुझाव दिए ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद जीवन परियारले स्थानीय तहको पुनर्संरचना सबै पार्टीहरुको प्राथमिकतामा परेकाले समयमै काम सकिने विश्वास ब्यक्त गरे। अर्का सांसद यज्ञबहादुर थापाले नयाँ संरचना समायोजनको समयमा केही समस्या जस्तो देखिएपनि निकै बैज्ञानिक रहेको उल्लेख गरे । सांसद शारदा पौडेलले पनि तोकिएको समयमै सबै चुनाव गर्न एकजुट हुनुपर्ने बताईन्।  कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय आमन्त्रित सदस्य रामजी कुवँर, काँग्रेस नेता खेमराज पौडेल लगायतले राजनीतिक स्वार्थ भन्दा माथि उठेर पुनर्संरचनामा सघाउन आग्रह गरे । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामराज लामिछानेले गरेका थिए भने उप–सभापति हरी आचार्यले स्वागत तथा सचिव सुदिपमोहन भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । यसैबीच नेपाली काँग्रेस वडा ईकाइ समिति–१५ पोखराले विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ईकाइका सभापति टोपबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा राजनितिक विश्लेषक पद्मशरण रेग्मीले पार्टीको सिद्धान्त तथा विचार सम्वन्धमा प्रशिक्षण दिएका थिए। वडा नं १५ का विद्यार्थी, तरुण एवं क्रियाशिल सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता तारा पाखे, ईकाइका उप–सभापति अर्जुनवी पोखरेल, तरुण नेता राजु आले लगायतका वक्ताहरुले आफ्नो भनाई राखेका थिए ।



Post a Comment

 
Top