0
गोल्डेन न्यूज संवाददाता
भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि पोखरामा त्यसको तयारी तीब्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरूपमा सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिले यतिखेर आफ्नो तयारीलाई तीब्रता दिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय सहप्रशासक दिवाकर बाँस्तोलाका अनुसार उपसमितिले आफ्नो जिम्मामा भएका सम्पूर्ण कार्य कात्तिक १८ गते अगावै सम्पन्न गर्ने गरी काम थालेका छन् । प्राप्त कार्यक्रम अनुसार राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम छ। विमानस्थल बाट सिधँै पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपरान्ह ३.०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडाँैं फर्कने कार्यक्रम छ । उनको भ्रमणको सिलसिलामा पोखराको सुरक्षा व्यवस्था मिलाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन्् । राष्ट्रपतिको भव्य स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइनेछ भने उनी सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ । त्यस्तै नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजा एवम् अभिवादनबाट श्रद्धाएवम् हार्दिकताका साथ राष्ट्रपतिको स्वागत गरिने छ । पोखरा भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले भारतीय पेन्सनक्याम्प बाट अमरसिंह, पृथ्वीचोक, हल्लनचोक, लेकसाइड लगायतका स्थानको दृश्यावलोकन गर्ने क्षेत्रीय सह–प्रशासक बाँस्तोलाले जानकारी दिए। विश्वमै पर्यटकीय ख्याती कमाएको पोखरामा अघिल्लो वर्ष सम्पन्न सार्क मन्त्रिपरिषद्को बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणसँगै दिपावलीलगत्तै हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणले पोखराको गरिमा र महत्वलाई अझै उचाइमा पु¥याउने विश्वास पोखरेली जनताले लिएका छन् ।

Post a Comment

 
Top