0

गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी नेपाल तरुण दलको महाधिवेशन लम्बिने संकेत मिलेको छ। अध्यक्षको प्रतिवेदन माथी धारणा राख्ने क्रम लम्बिएपछि महाधिवेशन पनि लम्बिने संकेत मिलेको हो । महाधिवेशनको दोश्रो दिन आइतबार अध्यक्ष उदयसमशेर राणाले अध्यक्षको प्रतिवेदन पेश गरेका छन् । सो प्रतिवेदनमाथि आइतबार करिब ५० जिल्लाका अध्यक्षहरुले आ–आफ्ना धारणा राखेका छन् । करिब एक सय जनाले प्रतिवेदनमाथि धारणा राख्न नाम टिपाएका छन् । यदि नाम टिपाएका सबैले धारणा राख्ने हो भने सोमबार पनि धारणा राख्दैमा समय बित्नेछ । महाधिवेशनका लागि पोखरा आएका नेपाली कांग्रेसका नेता धनराज गुरुङले महाधिवेशन लम्बिन सक्ने बताए । सहमतिमा नेतृत्व चयन भएमा सोमबार महाधिवेशन सकिने नत्र मंगलबार एक दिन महाधिवेशन लम्बिने उनको भनाइ छ । गुरुङले भने–‘बोल्नका लागि एक सय भन्दा बढीले नाम टिपाएका छन्, हालसम्म ४०÷४५ जनाले मात्र बोलेका छन्, त्यसैले सहमतिमा नेतृत्व चयन भयो भने मात्रै सोमबार महाधिवेशन सकिन्छ, प्रक्रियामा गएमा मंगलबार एक दिन महाधिवेशन लम्बिन्छ ।’
यसैबीच तरुण दलका अधिकांश कार्यकर्ता चुनावको पक्षमा छन् । आइतबार अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने अधिकांशले आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि निर्वाचनको प्रक्रियामा जानुपर्ने धारणा राखेका हुन् । उनीहरुले अध्यक्ष, उपाध्यक्ष, महासचिव वा सदस्य जो बनेपनि प्रक्रियाबाटै बन्नुपर्ने भन्दै अन्यथा कार्यकर्तामा निराशा छाउने चेतावनी समेत दिएको तरुण दलका केन्द्रीय सदस्य ऋषि काप्mलेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
कार्यकर्ताले निर्वाचन प्रक्रियाको कुरा गरेपनि नेताहरु भने आफू पक्षीय नेताहरुलाई सेटिङ मिलाउँदै छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरामै बसेर आफू पक्षीय जितजंग बस्नेतलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् । देउवाले गरेको सहमतिको प्रयासलाई अन्य नेताहरुले समेत समर्थन गर्ने संकेत मिलेपनि कसलाई कुन पदको जिम्मेवारी दिने भन्ने कुरा अझै अन्यौलमै छ ।
विशेषगरि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पोडेलका साथै नेताहरु कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्काको समूहलाई मिलाउन सके निर्वाचन प्रक्रियामा जान नपर्ने विश्वास कतिपय नेताको छ तर कांग्रेस नेता प्रकाशमान सिंह र कोइराला परिवारबाट समेत कसैलाई जिम्मेवारी दिनुपर्ने आवाज भित्रभित्रै उठिरहेको बताइन्छ । देउवा समूहको तर्फबाट अध्यक्ष लिने र अध्यक्ष पदमा जितजंग बस्नेतलाई नै जिम्मेवारी दिने पक्षमा देउवा समूह करिब ढुङ्गोमा पुगेको छ । देउवा पक्षका नेता एनपी साउदले त बस्नेतलाई तरुणदलको कमाण्डर भन्दै कांग्रेस नेता र कार्यकर्ता अगाडि संवोधन गरेका थिए । साउदको यस्तो भनाइसंगै त्यहाँ रहेका धेरैले बस्नेतालाई बधाई समेत दिएका थिए ।
देउवातर्फबाट बस्नेतलाई अध्यक्ष बनाइए पौडेल समूहले महामन्त्री लिने र सिटौला पक्षले उपाध्यक्ष र कोषाध्यक्ष लिने दावी गरिरहेको बताइन्छ । तर पदाधिकारीहरु थप गर्ने र सबैलाई पुग्नेगरि पद संख्या कायम गर्ने चर्चा चलेकोले नेताको निकटकामात्र नभएर आफ्नै परिवारका सदस्यहरुलाई समेत विभिन्न खाले जिम्मेवारी दिने अवस्था आउनेमा दुई मत छैन । पदाधिकारी थप गर्नेक्रममा प्रत्येक प्रदेशबाट १÷१ उपाध्यक्ष र १÷१ सचिवका साथै २ जना महामन्त्री बनाउने विषयले पनि व्यापकता पाएको छ । यस्तो भएमा उपाध्यक्ष र सचिवमा सबै नेताका नजिकका युवालाई समेत स्थान दिन सकिने अवस्था छ ।
जितजंगलाई अध्यक्ष बनाएर उपाध्यक्षमा आफू पक्षीय सिद्धार्थ कोइरालालाई उपाध्यक्ष बनाउन कोइराला परिवारले केही नेता लागिपरेको बताइन्छ । यसैगरी प्रकाशमान सिंहका आफन्त प्रवेशमान सिंहको नाम समेत पदाधिकारीको सूचीमा छ । त्यसैले ७ जना प्रान्तीय उपाध्यक्ष भएमा सबै नेताका आफन्तहरुलाई उपाध्यक्ष र सचिवको जिम्मेवारी दिने र महामन्त्रीमा समेत पौडेल समूहलाई स्थान दिने चर्चा छ । जितजंग नेविसंघको सभापतिका दाबेदार रहँदा देउवाले उनलाई तरुण दलको अध्यक्ष बनाउने आश्वासन दिएर नैनसिंह महरलाई समर्थन जनाउन बाध्य पारेका थिए । सोही सहमति अनुसार अहिले जितजंगलाई अध्यक्ष बनाउन देउवा लागिपरेका छन् । शनिबार तरुण दलको महाधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न देउवाले निर्देशन दिएका थिए। उनले आइतबार अपरान्हसम्म र साँझपख पनि आफू बसेको होटलमै कार्यकर्तासँग भेट्दै असन्तुष्टलाई थुमथुम्याएको बताइन्छ । साँझ पख उनले सिटौलालाई होटलमै बोलाएर भेटघाट गरेका थिए ।  अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्ने भन्दै बिभिन्न व्यक्तिहरुको नाम चर्चामा आइरहे पनि कांग्रेस नेता धनराज गुरुङले भने ती सबै बाहिरी हल्लामात्र भएको जिकिर गरे । महाधिवेशनमा नेतृत्व चयनका बेला विभिन्न विचार समूहसँग छलफल र सहमतिको प्रयास हुनु स्वाभाविक भएको बताउँदै उनले नेतृत्व चयनमा खिचडी पाकिरहेको कुरालाई पुष्टी गरे । ऋषिकेशजंग शाहले पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताए । ‘नेताहरु मिलेर सहमतिमै नेतृत्व चयनमा लाग्नुभएको छ, यद्यपि कार्यकर्ता भने प्रक्रियाबाट नेतृत्व चयनको मुडमा छन्, त्यसैले अहिले नै केही भन्न सकिन्न,’ उनले भने । देउवा र पौडेल पक्षले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताए पनि कृष्णप्रसाद सिटौला पक्षले त्यसको विरोध गरेको छ र चुनाबबाटै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएको छ ।

सिटौला समूहमा चापागाइँ र खड्का समूहमा मल्ल

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने हल्लाले व्यापकता पाएपछि यसलाई नेता र गुटको भागवण्डा या सहमति के भन्ने ? अथवा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्ने भन्ने विषय सबैका लागि चासोको विषय बनेको छ । देउवा–पौडेल र खड्का समूह संगै सिटौला समूह पनि भागवण्डाका आधारमा सहमति कायम गर्न तयार बनेको बताइन्छ । तर कांग्रेसभित्र तेस्रो शक्तिको रुपमा उदाएको सिटौला समूहको आइतबार साँझ सम्पन्न बैठकले पूर्व सचिव उत्तमकुमार चापागाईलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आफूहरुले निर्वाचनबाटै नेतृत्व चयन गर्नु पर्ने र छिटो प्रक्रिया सुरु गर्नु पर्नेमा जोड दिएको कांग्रेस नेता प्रदीप पौडेलले बताए ।  सिटौला समूहले जर्बजस्ती पदाधिकारीको नाम टाँसिए मान्य नहुने बताउँदै आएको थियो । बन्दसत्रमा चलेको सर्वसम्मतिको हल्लासँगै सिटौलाले आफू निकट सीमित पत्रकारसंग कुरा गर्दै विधान विपरित पदाधिकारी चुनिए आफूले नमान्ने बताए। ‘एउटा मात्र उम्मेद्वारी परे निर्विरोध हुनसक्छ। एकभन्दा बढी उम्मे्दवारी परे पनि छलफल गरेर सहमति हुनसक्छ,’ उनले भने–‘तर पार्टीले जर्बजस्ती पदाधिकारी छान्ने होइन।’ सबै तरुणबीच छलफल चलाएर सर्वसम्मत गरे राम्रो होला, नत्र विधान अनुसार चुनावी प्रक्रिया हुनैपर्छ’ उनले भने । शीर्ष नेताहरुले सहमति गर्दै पदाधिकारी चयन गरेको भन्ने हल्ला सत्य नभएको उनले बताए। ‘कसैले पदाधिकारीको नाम टाँस्दैन, यो निराधार हल्ला मात्र हो। निराधार र असत्य कुरालाई कुनै पनि कार्यकर्ता र नेताले पत्याउँदैनन,’ उनले भने–‘विधान बमोजिम नै नेतृत्व चयन हुनुपर्छ ।’ शीर्ष नेताहरुबीच कोही मिल्ने र कुनै जिल्लिने भन्ने कुरा नै नभएको पनि उनले बताए। सहमतिको नाममा पदाधिकारीको नामावली टासिने भन्ने हल्लामा आफूले विश्वास नगर्ने उनले बताए। स्वतः स्फुर्त हुने निर्वाचनमा रोक लगाए राम्रो नहुने उनको भनाइ छ । ‘सबैलाई आफ्नो क्षमता देखाउने अवसर छ । त्यसमा कसैले रोक लगाउने होईन,’–उनले भने। यसैगरी नेता खुमबहादुर खड्का नजिकका एक तरुण नेता कण मल्लले पनि नेताहरुको बीचमा सम्मानजनक सहमति भएको दावी गरे । सहमतिलाई कार्यान्वयन नगरिए आफू खड्का समूहको नेतृत्व गर्ने चुनावी प्रतिस्पर्धामा उत्रने उनले बताए
यता महाधिवेशन सम्पन्न गर्न गठित निर्देशक समितिले लामो प्रयासपछि महधिवेशन प्रतिनिधिको टुङ्गो लगाएको दावी गरेको छ । निर्देशक समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दिनभरको प्रयासपछि महाधिवेशन प्रतिनिधिको अन्तिम टुङ्गो लगाइएको बताए । उनले महाधिवेशन प्रतिनिधिहरु को टुङ्गो लागेपनि सहमति र भागवण्डाको कुरा पूर्णतः कार्यान्वयन हुनेमा आशंका प्रकट गरे । उनले भने–‘नेतृत्व चयनका लागि हामीले निर्वाचन प्रक्रिया शुरु गर्दा धेरैको उम्मेदवारी परेमा मतदान हुनेछ तर उम्मेदवारी थोरै परेमा र सहमति कायम भएमा भागवण्डाकै आधारमा कार्यसमिति बन्न सक्छ ।’

















Post a Comment

 
Top