0
गोल्डेन न्यूज संवाददाता
गोर्खा एण्ड बराह ज्वेलरीको नयाँ शाखा पोखराको न्यूरोडमा सञ्चालनमा आएको छ । शुक्रवार आयोजित कार्यक्रमका बीच नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्माले शाखाको उद्घाटन गरेका हुन् । यसअघि पोखराको सभागृहचोक सहित धरान, काठमाडौं, नारायणगढ, हङकङ, युके तथा दुवईमा सेवा सञ्चालन गर्दै आएको गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिजले न्यूरोडस्थित आफ्नै भवनमा शाखा विस्तार गरेको हो । सुनसरीको धरानमा २२ बर्ष अघि स्थापित बराह ज्वेलरी र गोर्खा कम्युनिटीको संयुक्त लगानीमा सञ्चालित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिजले झण्डै ८ करोड रुपैयाँ लागतमा न्यूरोड शाखा सञ्चालनमा ल्याएको हो । शाखा उद्घाटन गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष विश्वकर्माले गुणस्तरियतामा ध्यान दिन ब्यवसायीलाई आग्रह गे रे। उनले इमान्दारिताको साथ ब्यवसाय सञ्चालन गर्न सबै सुुनचाँदी ब्यवसायीलाई निर्देशन समेत दिए । सुनचाँदी ब्यवसायीले मात्रै सरकारलाई बार्षिक ८ अर्व राजस्व तिर्दै आएपनि आवश्यक कच्चा पदार्थको अझैपनि अभाव रहेको विश्वकर्माले बताए । सांसद शारदा पौडेलले ब्यवसाय विस्तारसँगै स्वदेशमै रोजगारीको वातावरण सिर्जना हुदै गरेको बताइन् । उनले निजी क्षेत्रको लगानी सुनिश्चित गर्न सरकारले आवश्यक वाताबरण बनाउनुपर्ने बताइन् ।
 
पोखरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्कीले संघले सुनचाँदी ब्यवसायीको हकहितको लागि आवाज उठाउँदै आएको उल्लेख गर्दै नयाँ शाखाको सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका करिष्मा मानन्धरको पनि उपस्थिति थियो । नयाँ सञ्चालनमा आएको न्यूरोड शाखाबाट तत्कालको लागि गहनाको मात्रै कारोवार गरिएपनि ग्राहकको आवश्यकता अनुसार नुन देखि सुन सम्मको सामान उपलब्ध गराउने इण्डष्ट्रिजका अध्यक्ष हरि कुमार धमलाले जानकारी दिए । न्यूरोडमा शाखा सञ्चालनमा आएपनि यसअघिको सभागृहचोक स्थित शाखा यथावत रहने उनले बताए । इण्डष्ट्रिजले पाँचौ बार्षिकोत्सबको अवसर पारेर सञ्चालनमा ल्याएको नयाँ शाखामा तीन दिने गहना प्रदर्शनी समेत सुरु भएको छ । शुक्रवार देखि सुरु भएको गहना प्रदर्शनी आईतवार सम्म चल्नेछ । उद्घाटनको दिन नयाँ शाखाबाट गहना किन्ने ग्राहक मध्ये एक जनालाई गोलाप्रथाबाट सुनको सिक्का उपहार प्रदान गरिने बताइएको छ । त्यस्तै उद्घाटनको अबसरमा गहनाको ज्यालामा विशेष छुट दिने समेत इण्डष्ट्रिजले जनाएको छ । इण्डष्ट्रिजका सबै शाखा मार्फत अहिलेसम्म ५ सय ७५ जनाले प्रत्यक्ष रोजगारी पाएको र झण्डै तीन हजार यसमा निर्भर रहेको धमलाले बताए । स्थानीयस्तरमा रहेको निष्क्रिय पुँजीलाई लगानी गरी स्थानीय स्तरमै रोजगारीको अबसर प्रदान गर्ने लक्ष्यसहित इण्डष्ट्रिजले लगानी विस्तार गरिरहेको उनले बताए । गोर्खा एण्ड बराह ज्वेलरीले हाल सम्म हरेक विलबाट ३० रुपैया छुट्याएर आर्थिक अभावको कारण विद्यालय जान नपाएको वालवालिका लाई सहयोग गर्दै आएको छ । अहिले चार जना छात्रवृत्तिमा अध्ययन गरिरहेको धमलाले बताए । त्यस्तै निःशुल्क एम्बुलेन्स सेवा, सेवाग्राहीको लागि निःशुल्क ट्याक्सी सेवा समेत सञ्चालन गरिरहेको गोर्खा कम्युनिटीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले बताए ।


Post a Comment

 
Top