0
गोल्डेन न्यूज संवाददाता
झन्डै तीन महिनादेखि एमबिबिएसको पढाई ठप्प बनेको मणिपाल मेडिकल कलेजमा बिहीबारदेखि पढाई सूचारु हुने भएको छ । अभिभावकको पहलमा स्थानीय प्रशासनको अगुवाईमा आन्दोलनरत र कलेज प्रशासन पक्षबीच बिहीबार भएको छलफलले विभिन्न ४ बुँदे सहमतिसाथ पढाइ निरन्तरताको निर्णय गरेको हो ।  तलब वृद्धिलगायत मागसहित प्राध्यापक, शिक्षक गत भदौ ६ गतेदेखि आन्दोलित बनेर पढाई ठप्प पारेका थिए । यसबाट करीव ३ सय विद्यार्थी क्लिनिकल र सैद्धान्तिक पढाइबाट बञ्चित थिए । लामो समय पढाइ नहुँदा सेमेस्टर नै गुम्ने हो की भन्ने त्रास उनीहरुलाई थियो । तलब वृद्धि, करारका शिक्षकलाई स्थायी गर्नुपर्ने र सार्वजनिक बिदामा गरेको कामको अतिरिक्त पारिश्रमिक (सट्टा बिदा) पाउनुपर्ने माग गर्दै प्राध्यापक र कर्मचारीले पढाइ ठप्प बनाएका थिए ।  समय सापेक्षरुपमा तलब वृद्धि गर्न कलेज व्यवस्थापन सहमत भएको छ । साथै करार शिक्षकको स्थायीका लागि प्रचलित कानून, शिक्षा मन्त्रालय, काठमाडांै विश्वविद्यालय र श्रम विभागसँग राय सुझाव लिएर २ महिनाभित्र अघि बढ्ने, सट्टा बिदाको हकमा विश्वविद्यालय र श्रम विभागको सुझाव संलग्नतामा टुंगोमा पु¥याउने निर्णय भएको छ । त्यस्तै प्राध्यापकका मागलाई वैज्ञानिक ढंगले सम्बोधन गर्न कलेज व्यवस्थापनको बाध्यतासमेत अध्ययन गरी समस्याको समाधान गर्न सबै पक्ष सहमत भएको र बिहीबारदेखि कक्षाहरु संचालन गर्ने निर्णय भएको हो । ‘हाम्रो अनुरोधलाई स्विकार्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले चासो देखाएर तत्काललाई समस्याको समाधान पनि भएको छ,’ अभिभावक मुकुन्द आचार्यले भने–‘समस्याको समाधानमा सहयोग पु¥याउन काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय र श्रम विभागमा समेत अभिभावकले अनुरोध गर्ने भन्ने पनि छलफल भएको छ ।’ प्राध्यापक र प्रशासनबीच उत्पन्न मनमुटावले समस्या आएको भन्दै उनले यसप्रति शिक्षा मन्त्रालय र विश्वविद्यालयले चासो देखाएर आवस्यक पहल गर्नुपर्ने बताए । बिहीबारको सहमतिपछि विद्यार्थी खुशी भएका छन् । लामो समयदेखि आन्दोलनरत र कलेज व्यवस्थापन पक्षबीच समस्या समाधानका लागि वार्तासमेत हुन सकेको थिएन । यसबाट सातौं र नवौं सेमेस्टरका (तेस्रो र चौथो वर्षका)  ३ सय विद्यार्थी प्रत्यक्ष मारमा परेका थिए । कलेजमा नेपालीलगायत भारत, श्रीलंका र माल्दिभ्सका विद्यार्थी पढ्छन् । प्रजिअ मैनालीले सबै पक्षबीच छलफल गराएर सहमति भएको बताए। ‘अभिभावक र विद्यार्थीसमेत प्रशासनमा आएका थिए,’ उनले भने–‘बिद्यार्थीको भविष्यप्रति चासो दिँदै आवश्यक पहल गरेका हौं । डेढ सय शिक्षकमध्ये ५५ जना आन्दोलनमा उत्रिएका थिए । कलेजले आन्दोलन गर्ने निश्चित समुहसँगमात्र वार्ता नगरी सबै शिक्षकसंग सामुहिक वार्ता गर्ने भनेको तर आन्दोलित पक्षले आफूहरुसंगमात्रै वार्ता गर्नुपर्ने अडान लिएकाले वार्ता हुन सकेको थिएन । बिहीबारको छलफलमा आन्दोलनरत पक्षबाट नेतृत्वकर्ता डा. दीपक कोइराला, कृष्णचन्द्र रिजाल, कृष्ण सापकोटा र दिपेश कार्की सहभागी थिए । यसैगरी मनिपाल व्यवस्थापनबाट डीन बिएम नागपाल, मानव संसासधन तथा प्रशासन प्रमुख भानु भारद्वाज, सौरभ नारायण र जीवनाथ न्यूरे र अभिभावकमा मुकुन्द आचार्य, बाबुराम पन्त, जगनबहादुर गुरुङ र विश्वप्रकाश लामिछाने सहभागी थिए ।


Post a Comment

 
Top