0
गोल्डेन न्यूज संवाददाता
एकवर्ष अघिदेखि बेपत्ता पोखरा अल्ट्रालाइट कम्पनीको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्रा–टुक्रा अवस्थामा फेला परेको हो । ११ हजार ९ सय ५१ फिटको उचाइमामा रहेको कास्कीको माछापुच्छ«्रे गाविसमा दुर्घटनाग्रस्त अवस्थामा अल्ट्रालाइट फेला परेको हो। अल्ट्रालाइट क्षतविक्षत अवस्थामा भेटिएको छ भने त्यसमा सवार दुई जनाको कंकाल भेटिएको पोखरा नागरिक उड्डयन कार्यालयका निर्देशक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । गुरागाईंले भने–‘नदीको बगर जस्तो ठाउँमा अगाडिको चक्का, फुटेको विमानको भाग, फुटेको क्यामेरा, र मानिसको हाडखोर भेटिएको छ । पोखरा अल्ट्रालाइट कम्पनीका संचालक पोमनारायण श्रेष्ठले समुद्र सतहदेखि करिब १२ हजार फिट उचाईमा टुक्रा–टुक्रा अवस्थामा जहाज फेला परेको जानकारी दिए । शनिवार एयर डाइनेष्टीको हेलिकोप्टरबाट सो स्थानलाई पृष्ठभूमि पारेर खिचिएको भिडियोमा बिमानको टुक्रा जस्तो देखिएपछि आइतबार खोजी गर्दा दुर्घटना ग्रस्त अवस्थामा अल्ट्रालाइट भेटिएको अल्ट्रालाइटका उनले बताए। वेपत्ता जहाज सहित त्यसमा रहेका पाइलट र यात्रु दुवैको शरीरका हड्डी मात्र फेला परेको उनले बताए । जहाज अघिल्लो बर्षको असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको ‘९एन एएलआइ’ कलसाइनको जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् । शरीरको हड्डी र खप्पर, तथा दाँत र जहाजको पांग्रा सहित केही भाग संकलन गरेर ल्याएको उनले जानकारी दिए । उनका अनुसार जहाजको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको छ । मानव हड्डी परपर उछिट्टएको अवस्थामा संकलन गरिएको तर ब्लाक बक्स भने फेला पार्न नसकिएको उनले बताए । आइतबार सशस्त्र प्रहरीको पोखरा स्थित कालिका गणका प्रहरी हवल्दारद्वय पूर्णलाल देवकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरमा गएर जहाज र मानव हड्डी संकलन गरेका थिए । पोखरा माथिको अकाशमा पर्यटन प्रवर्दनका लागि उडाउने गरिएको अल्ट्रालाइट १५ महिनाअघि बेपत्ता भएको थियो । आर्मीको हेलिकप्टरबाट १३ घण्टा, निजि हेलिकप्टरबाट ६ घण्टा तथा अल्ट्रालाइटबाट १४ घण्टा खोजीगर्दा समेत यो भेटिएको थिएन । अल्ट्रालाइटमा रसियन पाइलट भेलारी भुटिन र दक्षिण अफ्रिकी पर्यटक एलिजाबेथ सवार थिए । एलिजाबेथ हिमाली श्रृंखला दृश्यावलोकनका लागि जाँदैगर्दा अल्ट्रालाइट बेपत्ता भएको थियो ।




Post a Comment

 
Top