0
गोल्डेन न्यूज संवाददाता
उद्योग मन्त्री नवीन्द्रराज जोशीले गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने वा निजी क्षेत्रलाई दिने भन्ने बारेमा गृहकार्य भई रहेको बताएका छन् । पोखरामा आइतबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री जोशीले मासिक एक करोड रुपैयाँ घाटा भइरहेको उद्योगलाई सञ्चालनमा ल्याउन कि अन्यलाई सञ्चालन गर्ने भन्ने बारेमा छलफल अगाडि बढेको बताए । उनले कसरी व्यवस्थापन गर्ने भन्ने बारे सरकार गम्भीर बनेको बताउँदै करिब ३ सय कर्मचारीलाई विना काम राख्न नसकिने बताए । उनले बीरगंज चिनी कारखाना चलाउने सम्बन्धमा पनि गृहकार्य भएको बताए ।  उनले उद्योग धन्दाको विकास मार्फत युवाहरूलाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए । उनले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा युवाहरू विदेशिनुपरेको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न उद्योगको स्थापनामार्फत उनीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्नु आवश्यक रहेको बताए । बन्द उद्योग सञ्चालनका लागि सरकारले कदम चालेको बताउँदै मन्त्री जोशीले साना घरेलु कुटिर उद्योगको विकास गर्दै ठूला उद्योग संचालन गर्नुपर्नेमा जोड दिए । ‘सरकारले बन्द भएका मध्ये चल्न सक्ने उद्योगलाई चलाउने र नचल्ने उद्योगलाई व्यवस्थापन गर्ने सम्बन्धमा सोच अघि बढाएको छ’ उनले भने–‘उद्योगको विकासका साथै खनिज पदार्थको सम्भाव्यता का लागि सरकारले गृहकार्य गरिरहेको छ ।’ हेटौंडा कपडा उद्योगलाई सञ्चालनमा ल्याएर पहिलो चरणमा नेपाली सेना तथा प्रहरीका लागि कपडा उपलब्ध गराउने लक्ष्य राखिएको बताउँदै उनले बुटवल धागो कारखानालाई नीजि क्षेत्रलाई लिजमा दिनेबारे छलफल भैरहेको उल्लेख गरे । मन्त्री जोशीले संविधान कार्यान्वयन गर्नु सरकारको मुख्य एजेण्डा भएको समेत बताए। रिपोर्टर्स क्लब नेपाल तनहुँले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री जोशीले संविधान संशोधन विधेयक पेस गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि बढाउने पक्षमा सरकार रहेको बताए । विसं २०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गर्नुपर्ने भएकाले त्यसअघि स्थानीय र प्रदेशको चुनाव गर्ने तयारीमा सरकार लागेको बताउँदै उनले चैतको दोस्रो हप्ताभित्रमा स्थानीय चुनाव गर्न सकिने दाबी गरे। नेपाल औषधि व्यवसायी लिमिटेड र धागो कारखानालाई सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उनले लघु, कुटिर, घरेलु उद्योगलाई अगाडि बढाउँदै जाने उनले बताए ।






Post a Comment

 
Top