0
गोल्डेन न्यूज संवाददाता
 विश्वकै ठूलो दावी गरिएको थान्का पोखरामा प्रदर्शनका लागि राखिएको छ । पोखरा रंगशालामा शनिवारबाट सुरु भएको प्रदर्शन आईतवार सम्म चल्नेछ । निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको प्रदर्शनको पहिलो दिन पोखरेलीहरु थान्का अबलोकनका लागि पुगेका थिए । काठमाडौंमा दुई पटकसम्म प्रदर्शन गरिएको थान्का पोखरामा पहिलो पटक ल्याइएको हो । काठमाडौंमा सन् २०१२ र २०१६ मा प्रदर्शन गरिएको थियो । पोखरामा प्रदर्शनपछि दुई दिने प्रदर्शनकै लागि थान्का लुम्बिनी लैजाने नेपाल बौद्ध धर्म संरक्षण समितिका महासचिव प्रदिपमान श्रेष्ठले जानकारी दिए ।
 
विश्वकै ठूलो थान्काको रुपमा गिनीज बुकमा नाम लेखाउने प्रक्रियामा रहेको थान्का यसअघि जापान, अमेरिका, मंगोलिया र भारतमा प्रदर्शन गरिसकिएको छ । निर्माताका अनुसार अन्य देशहरुबाट पनि प्रदर्शनका लागि माग भैरहेको छ । यो थान्का मुस्ताङका सूर्यबहादुर थकालीले एक जापानीको सहयोगमा १४ बर्षअघि निर्माण गरेका हुन् । सन् १९९४ बाट निर्माण सुरु गरिएको थान्का सन् २००२ मा निर्माण सम्पन्न भएको थियो । यसको निर्माण कार्य नेपालबाट सुरु भएपनि अधिकांश भाग जापानमा बनेको हो । ७० मिटर लम्वाई र ५० मिटर चौडाईको थान्का निर्माण गर्न ८ बर्ष लागेको थियो । यो निर्माण गर्न १६ राष्ट्रका १० हजार भन्दा बढी स्वंसेवकहरु खटिएका थिए । थान्काको तौल १९०५ केजी छ । थान्काको ८१ वटा टुक्रामध्ये तीन वटा टुक्रा नेपालमै बनेको हो । थान्काको ८१ व्टा टुक्रालाई जोड्नको लागि मात्रै ३ हजार २ सय मिटर जिपर राखिएको छ । यो थान्कामा ७ हजार स्क्वायर फिट कपडा प्रयोग गरिएको छ । यो पेन्टिङ नगरी कपडाको टुक्राबाट निर्मित थान्का हो । यो थान्कामा बुद्ध भगवानको जीवनचक्र उल्लेख गरिएको निर्माता सूर्य बहादुर थकालीले जानकारी दिए । प्रदर्शनको बेला मात्रै निकालिने थान्का अन्य समयमा जापानमा भण्डारण गरी राखिन्छ । यसलाई स्थायी रुपमा राख्नको लागि अन्य देशहरुले मागिरहेको भएपनि बुद्ध जन्मस्थल नेपालकै लुम्बिनीमा राख्ने योजनामा रहेको निर्माता थकालीले बताए । लुम्बिनी क्षेत्रमा थान्का राख्नका लागि चार विगाह जमिन माग गरिएको उनले बताए । थान्का प्रर्दशनको लागि एक ठाउँबाट अर्को ठाँउमा ढुवानी गर्दा निकै महंगो पर्ने भएकाले समस्या भएको उनले बताएका छन् । पोखरामा प्रदर्शनका लागि जापानबाट ल्याउने क्रममा मात्रै झण्डै ३० लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।






Post a Comment

 
Top