0
वातावरणीय एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालको संरक्षणका लागि स्थानीय बासिन्दालाई सक्रिय बनाउने खालको नीतिको आवश्यकता रहेको आयोजित एक कार्यक्रमका वक्ताहरुले आँैल्याएका छन् । नेपाल वातावरण पत्रकार समूहको आयोजना तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा पोखरामा आयोजित कार्यशाला गोष्ठीका सहभागीले फेवातालका बारेमा चिन्ता व्यक्त गरेका हुन् । जलवायुमा आएको परिवर्तन सँगै हुने खण्ड र अतिवृष्टिका कारण उपल्लो तटीय क्षेत्रबाट बर्सेनि एक लाख ८० हजार घनमिटर सिल्टेसन(बालुवा) तालमा भरिने र यही क्रम रहेमा फेवातालको आयु १९० वर्षमात्र रहेको एक तथ्याङ्कले देखाएको छ । फेवाताल क्षेत्र वरिपरि वार्षिक पाँच अर्ब रुपैयाँको कारोबार हुने गरेको बताउँदै कार्यक्रमका वक्ताले सो रकमको दुई प्रतिशत मात्र संरक्षणका लागि छुट्याए वार्षिक ६ करोड रुपैयाँ जम्मा हुने बताए । पृथ्वीनारायण क्याम्पसका प्रा डा देवेन्द्रबहादुर लामिछानेले घरभित्रको प्रदूषण नियन्त्रण व्यक्तिले गरेपनि प्रकृतिमा हुने वातावरणीय प्रदूर्षण नियन्त्रणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट पहल गरिनुपर्ने बताए।  वरिष्ठ पत्रकार राजेन्द्र दाहालले समाचार सम्प्रेषणमा सत्यतथ्यको खाँचो रहेको र फेवातालको दोहन मात्र नभई त्यसको संरक्षणका लागि पनि स्थानीयवासीको सहयोग जुटाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।    नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले भौतिक विकासका साथसाथै वातावरण संरक्षणलाई भुल्न नहुने बताए । भूगोलविद् प्रा.डा कृष्ण केसीले फेवातालको संरक्षण र विकासमा करोडौ रुपैयाँ खर्च भइसकेको भएपनि खासै उपलब्धि प्राप्त हुन नसकेको जानकारी दिँदै कुनै पनि विकास निर्माणमा एकद्वार प्रणालीको खाँचो औँल्याए ।    क्षेत्रीय वन कार्यालयका उपनिर्देशक राजेन्द्रमानसिंह भण्डारीले सरकारको सही नीतिका कारण नेपालमा समुदायिक वनको अवधारणा सफल भएको तथा वातावरण र प्राकृतिक स्रोतको संरक्षणमा सामूहिकताको खाँचो रहेको बताए । रासस


Post a Comment

 
Top