0
पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ वाहिनीमा तीन महिने बिद्युत जडान (हाउस वायरिङ्ग) तालिम सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको सहयोगमा मुक्तिनाथ वाहिनीद्धारा आयोजित तालिमको मंगलवार सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंहले उद्घाटन गरे । सिंहले तालिमबाट सिकेका सीप जागिरे जीवनको साथै जागिरबाट अवकाश लिएपछि पनि काममा आउने भएकाले महत्वपूर्ण रहेको बताए । तालिम केन्द्र पोखराका प्रमुख तीलकराम रिजालले तालिमबाट प्रप्त हुने प्राविधिक ज्ञानले आयआर्जनमा पनि सघाउने विश्वास ब्यक्त गरे । सुरक्षा फौजको प्राविधिक ज्ञान सिपको विकासका लागि केन्द्रले अन्य तालिम पनि सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए । सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर रजालीले तालिम फलदायी हुने विश्वास ब्यक्त गर्दै सक्रियताका साथ सहभागी हुन निर्देशन दिए । तालिममा नेपाली सेनाका पाँच तथा सशस्त्र प्रहरी वल मुक्तिनाथ वाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्मका गरी ३० जनाको सहभागिता छ। सशस्त्र प्रहरी कर्मचारीलाई लक्षित गरी पोखरामा आयोजना गरिएको यो पहिलो तालिम हो ।

Post a Comment

 
Top