0
गोल्डेन न्यूज संवाददाता
पोखरामा प्रधान कार्यालय रहेको कामना विकास बैंक र बुटवलमा प्रधान कार्यालय रहेको सेवा विकास बैंक गाभिने भएका छन् । गाभिनका लागि आपसी समझदारी पत्र (एमओयु)मा  हस्ताक्षर भएको छ । सम्झौतामा कामनाका अध्यक्ष राजेन्द्रनीधि कोइरालाले र सेवाका अध्यक्ष भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका हुन् । आगामी चैतसम्ममा एकीकृत कारोबार गरिने बताइएको छ । मर्जरपछि बैंकको नाम कामना सेवा विकास बैंक रहने सहमति भएको छ ।  कामना विकास बैंक राष्ट्रियस्तरको र सेवा १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बैंक हुन् । मर्जभएपछि पुँजी १ अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुग्ने कामनाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए । निक्षेप ११ अर्ब ५५ करोड रुपैयाँ र लगानी १० अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ ।
कामनाले अघिल्लो आर्थिक वर्ष हकप्रद सेयर ३० प्रतिशत र सेवाले १ सय २० प्रतिशत शहप्रद सेयर निश्कासन गरेको छ । हकप्रद सेयर निस्कासन पछि बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ पुग्ने सेवाका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी दिए । राष्ट्रबैंकको नीति अनुसार २०७४ असार मसान्तसम्ममा विकास बैंकको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नुपर्छ । चालु आर्थिक वर्षको हकप्रद सेयर र नाफाबाट राष्ट्रबैंकको नीति अनुसारको पुँजी पु¥याउन आफूहरु सफल हुने काफ्लेले बताए । मर्जरपश्चात बैंकको अध्यक्षमा कामनाका अध्यक्ष राजेन्द्र निधी कोइराला, प्रमुख कार्यकारी अधिकृतमा सेवाका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्ले र नायब प्रमुख कार्यकारी अधिकृतमा कामनाका तोयराज अधिकारी रहने सहमति भएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । प्रस्तावित शाखासहित मर्जर प्रश्चात बैंकका शाखा ४० वटा, एटिएम १२ वटा पुग्नेछ । कर्मचारी २ सय ८४ जना पुग्ने बैंकको ग्राहक संख्या १ लाख ५६ हजार पुग्नेछ । गाभिएपछि सबल पुँजी भएको राष्ट्रियस्तरको सक्षम बैंक बन्ने प्रमखु कार्यकारी अधिकृत अधिकारीले बताए । ‘आगामी चैत मसान्तसम्म आपसमा गाभिने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘बाँकी प्रक्रिया पुरा गरेर सकेसम्म चाँडै एकीकृत कारोबार गर्न सक्षम बन्नेछौं ।’ मर्जर पश्चात बैंक अझ सफल र सक्षम रूपमा अगाडि सञ्चालकहरुको विश्वास छ । ‘सबैको प्रयत्न र प्रयासबाट हामीले सफलताहरु प्राप्त गर्दै अगाडि बढ्नेछौं,’ कामनाका अध्यक्ष कोइरालाले भने, ‘राम्रा वित्तीय संस्थाहरु आपसमा एक हुन पाउनु सबैका लागि उत्साहको कुरा हो ।’ पोखरामै प्रधान कार्यलय रहेको कास्की फाइनान्स र कामना विकास बैंक गत वर्ष गाभिएर राष्ट्रियस्तरको बैंक बनेको थियो ।


Post a Comment

 
Top