0
गंगाधर पराजुली
पोखरा २५ कार्तिक ।

नेपाल तरुण दलको पोखरामा हुने चौथो महाधिवेशनमा नेतृत्व लिनका लागि प्रतिस्पर्धामा को–को उत्रिएलान् भन्ने विषय अझै अन्यौलमा छ । तरुणदलको वर्तमान केन्द्रीय समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुले महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था अझै नभएका कारण नेतृत्वका लागि सम्भावित प्रतिस्पर्धीहरु को हुने भन्ने अन्यौल कायम रहेको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशनमा पनि तत्कालिन केन्द्रीय कार्यसमितिमा रहेकालाई चुनावमा जान नदिएको कारण तरुण दलमा पनि सोही निर्णय कायम रहने अवस्था छ । तर तरुण दलको वर्तमान केन्द्रीय समिति सहित पार्टीका केही नेताहरु कांग्रेसको पुरानो निर्णयमा परिवर्तन गरि वर्तमान कार्यसमितिमा रहेकाहरु चुनावमा जान मिल्ने बाटो खोल्नुपर्ने पक्षमा देखिएका छन् ।पार्टीका निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डेले यस विषयमा अझैसम्म केही निर्णय नभएकले आफूले केही भन्न नसक्ने स्पष्ट पारे । निर्देशक समितिमा पार्टीका विभिन्न गुटसंग आवद्ध नेताहरु रहेकाले उनीहरुले पहल गरेमा जुनसुकै निर्णय पनि हुन सक्ने बताइन्छ । निर्देशक समितिका संयोजक बालकृष्ण खाँड र सदस्य सुरेन्द्र पाण्डे सभापति देउवा पक्षका हुन् भने सदस्यहरु हृदयराम थानी, सरिता पर्साइँ र रामकृष्ण यादव वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन् । यस्तै सदस्य रहेका उमाकान्त चौधरी नेता कृष्णप्रसाद सिटौला र अर्का सदस्य शंकर भण्डारी पार्टी नेता खुमबहादुर खड्का पक्षका मानिन्छन् । त्यसैले निर्देशक समितिले चाहेमा महाधिवेशनबाट सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्न सकिने सम्भावना समेत देखिएको छ। कतिपयले वर्तमान कार्यसमिति मा रहेकालाई निर्वाचनमा सहभागी हुन नदिने र कार्यसमितिमा केही पदाधिकारी थप गरेर सबै गुटको व्यवस्थापन गर्ने कसरत भइरहेको समेत बताइन्छ ।
यदि पार्टीको पुरानो निर्णय कायम रहने हो भने तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङ, डडेलधुराका कर्णबहादुर मल्ल, तनहुँका पूर्ण गुरुङ, मोरङका दामोदर कोइराला, कालिकोटका नारायण भट्टराई र मोरङका सिद्धार्थ कोइराला लगायत केही नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने सम्भावना छ । सिद्धार्थ कोइराला विपि पुत्र प्रकाशका छोरा हुन् । मोरङका दामोदर कोइराला र पदम पालुङ्गा पनि नेतृत्वका लागि आकांक्षी हुन् तर उनीहरुमध्ये केहीको उमेर ४५ वर्ष कटेका कारण चुनाव लड्न पाउदैनन् । पार्टीले पुरानो निर्णय फिर्ता गरेमा भने जन्मजय तिमिल्सिना सभापतिका सशक्त उम्मेदवारको रुपमा मानिन्छन् । तिमिल्सिना संगै टेकराज पौडेल, मेदिनी सिटौला र लक्ष्मी खतिवडा पनि वर्तमान कार्यसमितिबाट नेतृत्वमा जान पहल गरिरहेका छन् । यस्तै अवस्था कायम रहेमा अर्थात पार्टीको निर्णय यथावत रहेमा महाधिवेशनको दोस्रो दिनमामात्र कस–कसका बीचमा नेतृत्वका लागि प्रतिस्पर्धा होला भन्ने आँकलन गर्न सकिन्छ । तरुणदलको केन्द्रीय समितिको सदस्यका लागि कास्कीका शंकर ढुङ्गाना, ललित गुरुङ, दुर्गा लामिछाने, सुरजजंग राणा, कुमार विक, विकास लामा र लक्ष्मण छन्त्याल लगायतले चाहना गरेका छन्।

Post a Comment

 
Top