0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा सूचना अधिकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सामुदायिक सूचना समाज पोखराद्वारा आयोजित सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सूचनाको हकलाई संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेका कारण उक्त हक प्राप्त गर्ने नागरिकको अधिकार भएको बताए । उनले सार्वजनिक निकायमा रहेका साना–ठूला सबै सूचना स्वतः सार्वजनिक सरोकारका हुनेमा जोड दिँदै सूचनाको माग नभएका अवस्थामा पनि सूचना प्रवाह भइरहनुपर्नेमा जोड दिए । सामुदायिक सूचना समाज पोखराका अध्यक्ष दीपक आचार्यले कास्की जिल्लालाई सूचनाको हकको क्षेत्रमा उत्कृष्ट जिल्ला बनाउने उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको बताए । पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले सूचना अधिकारी सूचना मैत्री, आधुनिक प्रविधि मैत्री एवं विषयवस्तुमा प्रभावकारी ज्ञान भएको हुनुपर्ने बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशिक्षणमा प्राप्त ज्ञानलाई सूचना अधिकारीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे । प्रशिक्षणमा कास्की जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारीको सहभागिता रहेको थियो ।





Post a Comment

 
Top