0
गोल्डेन न्यूज संवाददाता
पोखरालाई प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गरेको पोखरा उपमहानगरपालिकाले त्यसको प्रयोग बारे अनुगमन तीब्र पारेको छ । प्रतिवन्धित बस्तु प्रयोग भए नभएको बारे नगरक्षेत्रमा अनुगमनलाई तीब्रता दिइएको हो । पोखरा उपमहानगरपालिकाले कात्तिक २४ गते पोखरालाई प्लाष्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गर्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि कात्तिक २५, २६, २७ र ३० गते पोखराका विभिन्न क्षेत्रमा गरिएको अनुगमनको क्रममा झण्डै २६ किलो प्लाष्टिक झोला र गिलास जफत गरिएको छ । बिहीवार मात्रै पोखराको रामकृष्णटोल, विन्ध्यवासिनी हुँदै बगरसम्मका झण्डै ५० वटा पसलमा गरिएको अनुगमनमा १५ किलो प्रतिबन्धित बस्तु जफत गरिएको नागरिक निगरानी समुह पोखराकी संयोजक अन्जु केसीले जानकारी दिइन्। अहिलेसम्म पृथ्बीचोक, नयाँबजार, महेन्द्रपुल, सिद्धार्थचोक, रामकृष्ण टोल, बिन्ध्यवासिनी वगर लगायतका क्षेत्रमा अनुगमन गरिसकिएको छ। पोखरा उपमहानगरपालिकाले प्रतिबन्धित वस्तु प्रयोग भए नभएको अनुगमनका लागि टोलीनै गठन गरेको छ । अनुगमन टोलीको संयोजकमा नगरपालिकाका बरिष्ठ अधिकृत वसन्त चालिसे, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनील शाही, जिल्ला प्रहरी कार्यालय, पोखरा उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक निगरानी समूहकी संयोजक अञ्जु केसी नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, महिला समन्वय समितिबाट पवित्रा गुरुङ, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री, नगरपालिकाका वाताबरण अधिकृत निर्मलमान सिंह भण्डारी, अनुगमन तथा मूल्याङ्कन अधिकृत हरि न्यौपाने छन्। अनुगमनको क्रममा ब्यवसायीले आफूसँग मौजाद रहेको प्लाष्टिकका झोला र गिलास अनुगमन टोलीलाई सहज रुपमा हस्तान्तरण गरेको संयोजक चालिसेले जानकारी दिए । नगर क्षेत्रमा प्लाष्टिकका झोला तथा गिलास निकै कम रहेको र नयाँ आयत पूर्ण रुपमा रोकिएको उनले बताए। ब्यवसायी र नगरवासीलाई आफूसँग प्रतिबन्धित बस्तु मौजाद रहेको भए नगरपालिकामा बुझाउन चालिसेले आग्रह गरेका छन् । पोखरामा प्लाष्टिक झोला र गिलास पूर्णरुपमा नहटेसम्म अनुगमन जारी रहने चालिसेले बताए । प्रतिबन्धित बस्तुको प्रयोग गरेको पाइएमा कसुरको मात्रा हेरेर पाँचदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।


Post a Comment

 
Top