0
गोल्डेन न्यूज संवाददाता
काँचको पर्दामा देखिने ‘रेस्लिङ’ अब प्रत्यक्ष हेर्ने अवसर पोखरेलीलाई जुरेको छ । दोस्रो पटक पोखरामा रेस्लिङ खेलको मनोरञ्जन लिने अवसर पोखरा उद्योग वाणिज्य संघले जुराईदिदैं छ । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकलाई मनोरन्जन दिन नयाँ इभेण्टको रुपमा रेष्लिङ राखिएको छ। पोखराको नयाँबजारमा मंसिर २६ र २७ गते दुईदिन रेस्लिङ हुदैं छ । दुईदिनसम्म व्यापार मेलामा किनमेलसँगै मनोरन्जन लिने पाउने छन्। सधैं लोकदोहोरी र सांगीतिक माहोलको मात्रै मनोरञ्जन लिएका पोखरेलीले दुई दिन साँझ चार घण्टा रेस्लिङको स्वाद लिने पाउने पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं मनोरञ्जन उप–समितिका संयोजक पवन प्रजापतिले बताए । ‘दुई दिन रेस्लिङ राखेका छौं । जुन यो वर्षको मेलाको मुख्य आकर्षणको रुपमा लिइएको छ’ उनले भने–‘दर्शकलाई वर्षेनी फरक प्रवृत्तिको मनोरन्जन दिने उद्देश्य आत्मसात गर्दै रेस्लिङ गर्ने सोच बनाएका हौं ।’
रेस्लिङले मेलामा आउने दर्शकलाई मनोरन्जनको नयाँ आयाम हुने विश्वास पोखरा उद्योग वाणिज्य संघले लिएको छ । रेस्लिङकै कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा समेत संघले गरेको छ । मंसिर २३ गतेदेखि शुरु हुने व्यापार मेलाको तेस्रो र चौथो दिन रेस्लिङ हुने छ । साँझ ५ बजेदेखि राति ९ बजेसम्म गरिने छ । रेस्लिङको लागि सम्पूर्ण जिम्मेवारी हिमालयन टाईगर (भरत विसुराल) लाई दिइएको उनले बताए । ‘रेस्लिङमा सबै नेपाली रेस्लरले प्रतिस्पर्धा गर्ने छन्’ उनले भने–‘महिला रेस्लरको पनि उपस्थिति रहने सम्भावना छ ।’ रेस्लिङ गर्नको लागि आवश्यक तयारी समेत पोखरा उद्योग वाणिज्य संघले थालेको छ । २०६६ साल चैत ७ गते पोखरा रंगशालामा पहिलो पटक रेस्लिङ प्रतिस्पर्धा आयोजना गरिएको थियो । कास्की जिल्ला तेक्वान्दो संघले संघको इण्डोर हल निर्माण सहयोगार्थ आयोजित रेस्लिङमा नेपालीसँगै विदेशी रेस्लरको पनि उपस्थिति थियो । सातवर्ष अघि पोखरामा आयोजित रेष्लिङमा अमेरिकन रेष्लर विग भिटो पोखरा आएका थिए। पोखरा उद्योग वाणिज्य संघले रेस्लिङसँगै व्यापार मेलामा दर्शकको मनोरन्जनको लागि शारीरिक सुगठन प्रतियोगिता तथा फेशन शो समेत गर्ने जनाएको छ । संघका कोषाध्यक्ष प्रजापतिले कास्की जिल्ला शारीरिक तथा फिटनेस संघको आयोजनामा क्षेत्रीयस्तरको शारीरिक सुगठन प्रतियोगिता हुने जिकिर गरे । उनी पोखरा बडिविल्डिङ संघका अध्यक्ष समेत हुन् ।  फेशन शो पुषको ३ गते आयोजना गरिने छ । फेशन शोमा चर्चित नायिका करिष्मा मानन्धर वा सृष्टि श्रेष्ठको उपस्थिति रहने छ । अन्य ख्यातिप्राप्त मोडल तथा नायिकाहरु पनि पोखरा उद्योग वाणिज्य संघको व्यापार मेलाको स्टेजमा क्याटवाक गर्नेछन् ।




Post a Comment

 
Top