0
गोल्डेन न्यूज संवाददाता
एक वर्ष अगाडि उत्पादन शुरु भएको पिपलडाली मसला लोकप्रिय बनेको छ । देऊराली टेष्ट एण्ड फ्लेबर इन्डष्ट्रिजबाट उत्पादित पिपलडाली मसला गण्डकी तथा धौलागिरी क्षेत्रमा धेरैको रोेजाइमा पर्न सफल भएको उद्योगका सञ्चालक कृष्णराज बास्तोलाले जानकारी दिए । करिब ३ करोड रुपैयाँको लागतमा बास्तोलाले कास्कीको भलामा उद्योग सञ्चालनमा ल्याएका हुन् । १० ग्रामदेखि १ किलोग्राम सम्मको प्याकमा मसला बजारमा बिक्री भइरहेको उनले जानकारी दिए । ४० प्रकारका जडिबुटीको प्रयोग गरेर मसला उत्पादन गरिएको उनले बताए । जडिबुटीको प्रयोगबाट मसला उत्पादन भएकाले धेरैको रोजाइमा परेको बाँस्तोलाको दावी छ । मसला क्यामिकल रहित रहेको समेत उनले बताए । उद्योगबाट अहिले दैनिक १ हजार किलोग्राम मसला उत्पादन भइरहेको छ ।  बजारको माग बढ्दै गएकाले क्रमशः उत्पादन बढाउँदै लग्ने बास्तोलाले जानकारी दिए । ‘बजारको माग अनुसार उत्पादन बढाउन सकिन्छ’ उनले भने । विभिन्न डिलरमार्फत मसलाको बिक्री भइरहेको छ । नेपालमा उत्पादन भएका जडिबुटीलाई प्राथमिकतामा राखेर मसला उत्पादन गरिएको हो । मसलामा अलैची, टिमुर, जिम्बु, मरिज, सुठो, हलेदो, खुर्सानी लगायतको प्रयोग गरिएको प्रवन्धक नेत्र खाँणले जानकारी दिए । गण्डकी तथा धौलागिरी क्षेत्रमा लाकेप्रिय बनेको पिपलडाली मसलाको बजार बिस्तारलाई तिब्र बनाइएको खाँणले बताए । ‘सुदुरपश्चिम कर्णालीदेखि पूर्वमा नारायणी हुँदै जनकपुर र सगरमाथा अञ्चलसम्म पिपलडाली मसलाको बिक्री भइरहेको छ’ उनले भने । उद्योगबाट करिब दुई दर्जन ब्राण्डमा मसला उत्पादन भइरहेको छ । अहिले मसलाको मात्र उत्पादन शुरु गरेको उद्योगले भविष्यमा कच्चा पदार्थ पनि आफै उत्पादन गर्ने लक्ष्य राखेको छ । बजारको माग भएमा दैनिक ५ हजार किलोग्राम मसला उत्पादन क्षमता उद्योगमा रहेको छ । अहिले उद्योगमा ४० जनाले रोजगारी पाइरहेका छन् । मसला उद्योग सञ्चालन गरेका बाँस्तोलाले राइस मिल पनि सञ्चालन गरिरहेका छन् । १३ वर्ष अगाडिबाट संचालित राइस मिलबाट ईश्वर ब्राण्डको चामल र चिउरा उत्पादन हुँदै आइरहेको छ । बाँस्तोलाले आगामी ३÷४ वर्षभित्रै बिस्कुट र चाउचाउ उद्योग पनि स्थापना गर्ने लक्ष्य राखेका छन् । ‘पोखरामा मसला उद्योगको आवश्यकता महसूस गरी यसमा लगानी गरेको हुँ,’ बाँस्तोलाले भने, ‘जडिबुटीको प्रयोग गरी उत्पादित मसला देशभरको बजारमा छिट्टै पुग्नेछ ।’

Post a Comment

 
Top