0
गोल्डेन न्यूज संवाददाता
हङकङ बजारका आगलागी पीडितहरुलाई राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी संघ, शान्तिवन–९ पोखराले सहयोग गरेको छ । संघका करिब १ सय ३७ सदस्यहरुबाट संकलित ७७ हजार १ सय ५५ रुपैयाँ गरिएको राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी महासंघका कोषाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।  राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी संघका अध्यक्ष छेवाङ तामाङले हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनार र बजार संरक्षक राजकुमार सुवेदीलाई संकलित रकम हस्तान्तरण गरेका हुन्। पीडितहरुको सहयोगार्थ एक थोक व्यावसायी मध्येबाट अनिवार्य पाँचसय भन्दा बढि रकम संकलन गरिएको छेवाङ तामाङले बताए । गत कात्तिकको २४ राति हङकङ बजारमा अचानक आगलागी भई २३ सटर पूर्णरुपमा र ७ सटर आंशिकरुपमा क्षति भएको हङकङ बजारका संरक्षक राजकुमार सुवेदीले बताए । सुवेदीका अनुसार पोखरामा संचालित सस्तो बजारहरुसंग सहयोगका लागि आग्रह गरेको उल्लेख गरे । चिप्लेढुङ्गा सस्तो बजारबाट ४० हजार, गण्डकी मिनी मार्केट नयाँबजारबाट ५६ हजार र पोखरा सस्तो बजार पृथ्वीचोकले ८५ हजार, ४ सय, ४२ रुपैयाँ सहयोग गरेको सुवेदीले बताए । हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनारले सहयोगबाट आएको रकमलाई आगलागीबाट क्षति भएको सटरहरुको पुनर्निर्माणमा खर्च गर्ने बताए । ‘९५ प्रतिशत सटरहरुको पुनर्निर्माण कार्य पूरा भइसकेको छ,’ सुनारले भने–‘सबै सटरहरुको पुनर्निर्माण कार्य पूरा गर्न आठ लाखसम्म लाग्ने समितिले अनुमान लगाएको छ।’ बजार व्यवस्थापन समितिले सटरहरुको पुनर्निर्माण गरिदिएपनि पीडितहरुलाई पुनः व्यवसायमा फर्कन चुनौती रहेको औंल्याए। उनले भने–‘पीडितहरुको सटर त पक्का बन्ने भयो, तर उनीहरुलाई लगानी कसले गरिदिने? कार्यक्रममा संघका सल्लाहकार रुद्रप्रसाद खनाल, राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यवसायी महासंका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद फुँयाल, कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्षद्वय कर्ण गिरी र रामकृष्ण दवाडीले बोलेका थिए ।  संघका अध्यक्ष छेवाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मलप्रसाद बाँस्तोलाले स्वागत मन्तव्य र सचिव अक्कल बहादुर सिकेले कार्यक्रम सञ्चालन गरेका थिए । 





Post a Comment

 
Top