0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय नगरी पोखरामा पहिलो पटक जङ्गल रिसोर्टको मज्जा लिन पाइने भएको छ । पोखरा–२३ दोबिल्लास्थित रहिचौरमा ७२ रोपनी जग्गामा पाँचतारे जङ्गल रिसोर्ट निर्माण भइरहेको छ । एक वर्ष अगाडिबाट निर्माणाधिन रिसोर्टको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको लगानीकर्ता मध्यका एक ध्रुबबहादुर थापाले जानकारी दिए । थापासहित रिसोर्टमा ८ जनाको लगानी रहेको छ । पहिलो चरणको काम आगामी ६र७ महीना भित्रमा सकिने थापाको भनाई छ । पहिलो चरणको काम सकेर रिसोर्ट सञ्चालनमा आउँदासम्म करीब १ अर्ब रुपैयाँ लगानी हुने उनले बताए । पहिलो चरणमा ६४ ओटा कोठाबाट रिसोर्टको सेवा शुरु हुनेछ । आगामी पर्यटकीय सिजनबाट रिसोर्ट सञ्चालन हुन्छ,’ उनले भने, ‘पोखरामा पहिलो पटक सुविधा सम्पन्न जङ्गल रिसोर्ट सञ्चालनमा आउँदैछ ।’ रिसोर्टमा ६ वटा ब्लग र ६ वटा भिल्ला रहनेछन् । एउटा प्रेसिडेण्टल रुम र अरु सबै सुपर डिलक्स रुम हुनेछन् । पर्याप्त पार्किङ तथा स्विमिङ पुलको सुविधायुक्त सो रिसोर्टलाई आकर्षक डिजाइनबाट तयार गर्न लागिएको थापाले जानकारी दिए । जङ्गलको काखमा बन्ने उक्त रिसोर्टबाट पोखरा तथा माछापुच्छ्रे, अन्नपूर्ण लगायतको लामो हिमाली श्रृङखला देख्न सकिनेछ । ‘प्रत्येक रुम तथा बाथरुमबाट समेत हिमालयको दृश्यावलोकन गर्न सकिनेछ,’ थापाले भने । सेती नदी र फुस्रे खोलाको संगमस्थल तथा वरपरका हरियाली जङ्गल तथा पहाडहरुको दृश्यावलोकन समेत रिसोर्टबाटै गर्न सकिनेछ । रिसोर्ट परिसरमा साइलक ट्रयाक र फुड ट्रयाक पनि निर्माण गरिने पत्रकार सुरेन्द्र पौडेलको समाचारमा जनाइएको छ । रिसोर्टमा ठूला साना गरी ४ ओटा हल हुनेछन् । आन्तरिक तथा बाह्य उच्च वर्गीय पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा विमानस्थलबाट ७ किलोमिटर र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ४ किलोमिटर दूरीमा रिसोर्टस्थल अवस्थित छ । शान्त तथा पारिवारिक वातावरणमा स्तरीय होटलमा बस्न चाहने पर्यटकलाई सेवा प्रदान गर्न आफूहरु सफल हुने थापाको दाबी छ । ‘सुन्दर प्राकृतिक तथा हरियाली वातावरणमा रिसोर्ट बनेकाले पनि धेरैको आकर्षण बढ्ने विश्वास लिएका छौं,’ उनले भने । पहिलो चरणको काम सम्पन्न भएर रिसोर्ट सञ्चालनमा आएपछि दोस्रो चरणको काम तत्काल शुरु हुने थापाले जानकारी दिए । दोस्रो चरणमा थप ३६ गरी जम्मा एक सय कोठाबाट रिसोर्ट सञ्चालन हुनेछ । दोस्रो चरणको काम सम्पन्न हुँदासम्म रिसोर्टमा करीब ५० करोड रुपैयाँ थप लगानी हुने बताइएको छ । रिसोर्टमा एनएमबी बैङ्कले बैङ्किङ सहकार्य गरेको छ । रिसोर्ट सञ्चालनमा आउँदासम्म करीब एक सय जनाले प्रत्यक्ष रोजगारी पाउने थापाले बताए । रिसोर्ट सञ्चालनमा आएपछि नेपालको स्तरीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सञ्चालकहरुको दावी छ । ‘पोखरा आउने पर्यटकको सङ्ख्या बढाउन र बसाइँ अवधि लम्ब्याउन पनि रिसोर्टले योगदान पुर्याउने विश्वास गरेका छौं,’ उनले भने । विभिन्न प्याकेजमा पर्यटकलाई सेवा उपलब्ध गराउने उनले बताए । पर्यटकीय नगरी पोखरामा स्तरीय रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरेको थापाले जानकारी दिए ।






Post a Comment

 
Top