0
गोल्डेन न्यूज संवाददाता
मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत नेपालले मंगल बारसमूहको दोस्रो तथा अन्तिम खेलमा ब्रुनाईबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा पूर्वी टिमोरसँग गोलरहित बराबरी खेलेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि बराबरीको नतिजा पर्याप्त हुनेछ । समूह चरणमा ब्रुनाईले टिमोेरलाई चार शून्यले हराएकाले नेपाल चारभन्दा कम गोलअन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । जित हासिल गरेमा नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । नेपाल र ब्रुनाइबिरुद्धको खेल नेपाली समयअनुसार भोलि साँझ सवा पाँच बजे मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा हुनेछ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नेपालको प्रदर्शन मैदानको कण्डिसनमा निर्भर रहने बताए । उनले भने, ‘हामीले बु्रनाईसँग खेल्ने मैदान हिलो छ, त्यसैले मैदानको अवस्थाले हाम्रो प्रदर्शन निर्भर गर्नेछ ।’ ‘हाम्रो मूख्य उद्देश्य भनेको आफ्नै प्रदर्शनमा सुधार ल्याउनु हो’ उनले भने–‘पहिलो खेलको तुलनामा आगामी खेलहरुमा हामीले सुधार ल्याउनेछौं ।’ दुई दिनको आराममा रहेको नेपाली टोली पाँच दिन आराम पाएको ब्रुनाईसँग खेल्दा स्वभाविक रुपमा केहि कठिन रहेको भने उनले स्वीकारे । यता ब्रुनाईका कोरियाली प्रशिक्षक क्वोनले नेपाल प्रतियोगिताको प्रमुख दावेदारमध्ये एक भएपनि जितका लागि आफुहरु तयार रहेको बताए । उनले पूर्वी टिमोर बिरुद्धको खेलमा आफ्नो टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसकेको बताए ।

Post a Comment

 
Top