0
गोल्डेन न्यूज संवाददाता
भूकम्पबाट प्रभावित जिल्लाका स्थानीय विकास अधिकारी (एलडीओ) हरूले पुनर्निर्माणसम्बन्धी कार्यविधिलाई व्यावहारिक बनाउन माग गरेका छन् । उनीहरूले कार्य्विधिमा रहेका विभिन्न खाले जटिलता र अनुत्तरित प्रश्नहरूले कार्यक्षेत्रमा काम गर्न कठिनाइ भएको गुनासो पोखेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका एलडीओ र ती जिल्लाका नगरपालिकाका कार्यकारी अधिकृतसँग बुधबार गरेको छलफलमा उनीहरूले स्थानीयस्तरमा उठेका समस्याहरू उजागर गरेका हुन् । 

पुनर्निर्माण प्राधिकरण, आवास तथा सहरी विकास तथा आफ्नै मन्त्रालयसँग उनीहरूको गुनासो थियो । जिल्लाबाट आउने सर्वसाधारणका गुनासा र समस्याबारे समयमै निर्णय नहुँदा काममा बाधा पुग्ने गरेको पनि उनीहरूले बताए । चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले गुनासो लिने र त्यसको सम्बोधनको एउटा समयसीमा बनाउनुपर्ने सुझाए । ‘दिनदिनै गुनासाहरू आइरहेका छन् । कति दिनसम्म लिइरहने ?’ उनले भने, ‘गुनासा किनारा नलाग्दा काम गर्नै समस्या भइरहेको छ ।’ नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले त पीडित पक्षबाट आउने समस्याको सम्बोधन हुन नसक्दा भौतिक कारबाहीसम्मको चेतावनी आफूले सुन्नु परिरहेको पीडा पोखे । ‘एउटै घरका चार जनासम्मको नाम लाभग्रहीको सूचीमा छ । अर्को्तिर घर भत्केर पनि नाम नचढेका उदाहरण छन्,’–उनले भने ‘समस्यै समस्याका बीचमा सरकारले तोकेको मंसिर १५ भित्र पहिलो किस्ताको अनुदान सम्झौता कार्यान्वयन चुनौतीपूर्ण छ ।’ललितपुरका स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले पनि भूकम्पपीडित धेरैको नाम लाभग्राही सूचीमा छुटेकाले समस्या आएको बताए । ‘फलानाले किन पायो । मैले किन पाइन भनेर पीडितहरूको प्रश्न छ,’ उनले सुनाए, ‘एउटै व्यवहार नभए काम गर्न नदिने चेतावनी दिनदिनै सुन्नुपर्छ ।’एलडीओ र कार्यकारी अधिकृतहरूले आफ्नो नियमित कामसँगै पुनर्निर्माणको काममा विशेष ध्यान दिनुपर्दा जनशक्ति अपुग भइरहेको बताएका थिए । उनीहरूले थप सुविधाको समेत माग गरे । मकवानपुरका एलडीओ नारायणप्रसाद मैनालीले जोखिम पहिचान गरिएका बस्तीका मानिसहरू अन्यत्र सर्न नमानेको समस्या सुनाए । उनले प्राधिकरणले दिनदिनै मौखिक निर्देशन दिने गरेको उल्लेख गर्दै लिखित निर्देशन नै पठाउन सुझाए । काठमाडौंका एलडीओ गोपालकुमार अधिकारीले पनि काम गर्दै जाँदा अगाडि आइपर्ने समस्याका सम्बन्धमा प्राधिकरण बाट स्पष्ट निर्देशन नआउँदा कठिनाइ हुने गरेको सुनाए ।  छलफलमा अधिकांशले दक्ष ज्यामीरनिर्माण सामग्री अभाव, कार्यक्षेत्रमा गाविस सचिव र इन्जिनियर नबस्नु, बैंकिङ कारोबारमा समस्या, अनुगमनको कार्यविधि अभावजस्ता साझा समस्याका बारेमा उठाएका थिए ।
 
त्यस्तै, लालपुर्जा नभएका लाभग्राहीलाई सम्बोधन, छुट्टिएर बसे पनि सगोलको जग्गा भएकासँग कसरी सम्झौता गर्ने, एक ठाउँको लाभग्राहीले अनुदान रकमबाट अन्तै घर बनाउँछु भन्दा के गर्नेजस्ता अनेकन व्यावहारिक समस्याहरू छलफलमा उठेका थिए । स्थानीय सामुदायिक कला शैली र संस्कृतिलाई सम्बोधन नगरिँदा प्राधिकरणले तय गरेको १७ वटै घरका डिजाइनहरू कतिपय स्थानका मानिसले अस्वीकार गरिरहेको समेत उनीहरूले बताए । ललितपुर बज्रबाराही नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले स्थानीय नेवार समुदायले आफ्नो संस्कृतिअनुसार घरको डिजाइन नभएको भन्दै विरोध गरिरहेको सुनाए । सिन्धुली कमलामाई नगरपालिका कार्यकारी अधिृकत जगतप्रसाद भुसालले राजमार्गका लागि जग्गा छोडदा पीडितहरू सुकुम्बासी हुने अवस्थासमेत आएको उल्लेख गरे । नयाँ नगरपालिकाहरूमा नक्सा बनाउने इन्जिनियर नहुँदा र त्यसमा लाग्ने खर्चका कारण लाभग्राहीहरू नक्सापास गराउन झन्झटिलो मानिरहेका जस्ता व्यावहारिक समस्याहरू पनि अधिकांशले उठाएका थिए ।  स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्राधिकरणले समय सीमा निर्धारण गरेर समस्याको सम्बोधन गरिदिए जिल्लामा काम गर्न सजिलो हुने सुझाए । उनले सहज प्रक्रियाबाट भूकम्पपीडितलाई सेवा र सहयोग पुर्रुयाउन आग्रह गरे । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले आगामी ७र८ महिनाभित्र कामको प्रगति देखाउन नसके पुनर्निर्माण अभियानमाथि प्रश्न उठ्ने बताउँदै एलडीओ र कार्यकारीका समस्या समाधानको प्रयास भइरहेको बताएका थिए । १४ जिल्लाबाट आएका १ लाख ९२ हजार गुनासाको सम्बोधन विभिन्न तहबाट भइरहेको भन्दै उनले पछि थपिएका १ लाख १ हजार गुनासाको पनि कम्प्युटर इन्ट्री र विश्लेषणको काम भइरहेको जानकारी दिए । उनले पुर्न्निर्माण कार्यमा खटिने कर्मचारीका लागि ७५ प्रतिशतसम्मको भत्ता व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग छलफल गरिरहेको बताए । स्थानीय विकासमन्त्री हितराज पाण्डेले भूकम्पले क्षतिग्रस्त निजी क्षेत्रका सबै घर दुई वर्ष्भित्र बनाइसक्ने लक्ष्य रहेकाले पुनर्निर्माणको अभियान सफल पार्न सबैले आफ्नो क्षमता प्रयोग गर्नुपर्ने बताए ।

Post a Comment

 
Top