0
गोल्डेन न्यूज संवाददाता
जर्मनीले नेपाललाई दुई वर्षका लागि करिब ४ अर्ब १८ करोड रुपैयाँ (३६ मिलियन युरो) अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।  भूकम्प पुनर्निर्माणमा यसअघि नै १६ मिलियन (एक अर्ब ८६ करोड) सहयोग घोषणा गरेका कारण आगामी दुई वर्षको नियमित बजेटमा ६ मिलियन अर्थात् ६९ करोड रुपैयाँ सहयोग घटेको हो । अर्थ मन्त्रालयका पदाधिकारी र जर्मन अधिकारीबीच मंगलबार र बुधबार भएको बैठकमा उक्त सहयोग घोषणा भएको हो । अर्थ मन्त्रालयमा भएको बैठकमा यसअघि चालु रहेको सहायता पूर्ण भएकाले आगामी दुई वर्षका लागि नयाँ सहयोग गर्ने समझदारी भएको हो । हरेक दुई वर्षमा हुने नेपाल–जर्मन आर्थिक परामर्शसम्बन्धी बैठकमा जर्मनीले दिने सहयोगलाई प्राथमिकता अनुरूप तय गर्ने गरेको छ ।  भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरेकै कारण नियमित बजेटमा अघिल्लो वर्षभन्दा ६ मिलियन युरो घटे पनि समग्रमा १० मिलियन युरो बढेको दूतावासले जनाएको छ । जर्मनीले नेपाल सधैं आफ्नो प्राथमिक मित्र मुलुकका रूपमा राखेर सहयोग गरिरहेको दूतावासले उल्लेख गरेको छ । जर्मनीले नेपाललाई सन् १९६१ देखि सहयोग गर्दै आएको छ । नेपालमा जर्मनले आफ्नो सहयोग नियोग जीआईजेडका अलावा थिंक ट्यांकमार्फत पनि सहयोग गर्दै आइरहेको छ ।  जर्मनीले दिगो आर्थिक विकास, स्वास्थ्य क्षेत्र, पुनर्निर्माण र प्राविधिक सहयोगमा जोड दिएको छ । माओवादी द्वन्द्वको समयमा समेत जर्मनीको सहयोग जारी थियो । जर्मनीले नवीकरणीय ऊर्जा र ऊर्जा क्षमताको विकासमा पनि सहयोग गर्ने भएको छ । सहयोगको प्रभावकारी उपयोगिताका लागि स्थानीय निर्वाचन अपरिहार्य रहेकोसमेत जर्मन राजदूत माथियास मायेरले बताएका छन् । स्थानीय निर्वाचन १८ वर्षदेखि हुन नसकेको उल्लेख गर्दै उनले निर्वाचनमा जोड दिन सम्बन्धित पक्षलाई आग्रह गरे । राजदूत मायेरले भने–‘पुनर्निर्माण कार्यलाई द्रुत गति दिन र राजनीतिक अन्तरविरोध तत्काल सल्टाउन आवश्यक छ ।’भूकम्पपछिको पुनर्निर्माणका लागि जर्मनीले १६ मिलियन युरो केएफडब्लू बैंकमार्फत सहयोग गरिरहेको छ । नियमित सहयोगको ३६ मिलियनमध्ये २० मिलियन युरो जर्मन सहयोग नियोग जीआईजेड र जर्मन नेसनल मेट्रोलोजी प्रतिष्ठानमार्फत सहयोग गरिरहेको उल्लेख छ । बाँकी १६ मिलियन युरो भने लेखनाथ–दमौली १ सय ३२ केभीए प्रसारण लाइन निर्माणमा खर्चिने सहमति भएको छ । यो सहयोग ऊर्जा मन्त्रालयमार्फत हुनेछ । अहिलेसम्म जर्मनीले १.२ अर्ब युरो सहयोग गरिसकेको समेत उल्लेख छ ।





Post a Comment

 
Top