0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको नयाँ संविधान संशोधनका वर्तमान प्रयास र चुनौती विषयक विचार गोष्ठीलाई संवोधन गर्दै महामन्त्री कोइरालाले उक्त कुरा बताएका हुन् । उनले भने–‘म कांग्रेसलाई एक ढिक्का बनाउन प्रतिवद्ध छु र त्यही अनुसार प्रयास गर्नेछु । तर मेरो प्रयासलाई कांग्रेसका नेता कार्यकर्ताले मात्र नभई आम प्रजातन्त्रवादीले समेत साथ दिनुहुनेछ भन्ने विश्वास छ। महामन्त्री कोइरालाले नेपाली कांग्रेसले सबैको मियो बनेर राष्ट्रलाई बचाउने जिम्मेवारी बोकेको बताए । यसै प्रसङ्गमा उनले भने–‘मैले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख तीन दल र मधेशवादी दलसंग बसेर संविधानको कार्यान्वयन र निर्वाचनको वातावरण तयार गर्न भूमिका खेल्न आग्रह गरेको छु । अमेरिकामा २५० वर्ष अघि ५५ जनाले ६ महिना समय लगाएर बनेको संविधान पटक–पटक संशोधन भएर पनि हालसम्म चलिरहेको र भारतमा करिब ७५ वर्ष पहिले बनेको संविधानमा १४० बुँदा परिवर्तन भएको प्रसङ्ग उल्लेख गर्दै नेता कोइरालाले नेपालको संविधान संशोधनका लागि राजनीतिक स्पष्टता आवश्यक रहेको बताए ।  उनले छोटो समयमा तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व कांग्रेस लगायतका पार्टीसंग रहेको र निर्वाचन हुन नसके संविधान कार्यान्वयन हुन नसक्ने दावी गरे । कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले कांग्रेसले पटक–पटकको आन्दोलनको नेतृत्व गरेको भएपनि त्यस अनुसारको संस्कार र संस्कृति देखाउन नसकेको बताए । उनले पटक–पटक कांग्रेसभित्र गुट र विभाजन देखिनुले आम प्रजातन्त्रवादी उत्साहित हुन नसकेको भन्दै गुटको राजनीतिलाई त्याग्न कांग्रेस नेतृत्व समक्ष आग्रह गरे । कांग्रेस महामन्त्री डा. कोइरालाप्रति लक्षित गर्दै उनले भने–‘तपाइँ विप कोइरालाको पुत्र, बाबुको विडो छोराले धान्नुपर्छ भन्ने चलन नेपाली समाजमा रहेको छ। त्यसैले तपाइँले बुबाको जिम्मेवारी सम्हाल्न सक्नुपर्छ । यदि नसक्ने भए छोड्नुपर्छ ।’ उनले समाजका सबै सदस्यहरुलाई कांग्रेसको गुटको पछि लाग्न भन्दा सही विचार बोकेर अघि बढ्न आग्रह समेत गरे । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले अहिले कांग्रेस भित्रको गुट–उपगुट नै आम प्रजातन्त्रवादीका लागि हानीकारक बनेको भन्दै गुट–उपगुटकै कारण कांग्रेसभित्र समान धारणा बनाउन समस्या परेको बताए । उनले भौतिक र शारीरिक रुपमामात्र समावेशीकरणको कुरा गर्नुभन्दा वौद्धिक रुपमा गर्नुपर्ने र तराई–पहाडलाई संग–संगै चल्न दिने खालको भावना विकास गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता देवराज चालिसेले अहिले नेपाली कांग्रेसभित्र विचारको खडेरी परेको जस्तो देखिएको भन्दै विपिको विचारलाई बोकेर समयानुकुल अघि बढ्न कांग्रेस नेतृत्व तयार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा डा. विपिन अधिकारीले नयाँ संविधान संशोधनको प्रयास र समस्याहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमार्फत सीमाङ्कन हेरफेरबारे विकल्प, नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ को मस्यौदा, निर्वाचन सम्बन्धी संसदमा प्रस्तुत भएको तीन विधेयक र स्थानीय तह पुनर्संरचनाको मापदण्ड के हो भन्ने विषयमा विस्तृत व्याख्या गरेका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष डा. गिरीधारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका महासचिव गोकर्ण अर्याल, सचिव वासुदेव भण्डारी, केन्द्रीय सदस्य वीरुबहादुर कार्की, सांसदद्वय शारदा पौडेल र वृन्दा राना, नेपाली कांग्रेस कास्कीका उपाध्यक्ष हरि आचार्य, कोषाध्यक्ष लक्ष्मी पाण्डे क्षेत्री, कांग्रेस नेता निर्मल कर्माचार्य, नेपाल शिक्षक संघका उपाध्यक्ष किशोरदत्त बराल र समाजका उपाध्यक्ष विन्दु पौडेल, सचिव तुलसी प्रवास लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रजातान्त्रिक विचार समाज कास्कीले प्रकाशन गरेको ‘विचार प्रवाह’ को कांग्रेस महामन्त्री डा. कोइरालाले लोकार्पण गरेका थिए भने समाजको आजीवन सदस्य बन्ने र आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top