0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले नेपालमा वनको अवस्था सन्तोष जनक रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आयोजना गरेको ‘संवृद्धि र उच्च शिक्षाका लागि वन’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री भण्डारीले वन मन्त्रालयका लागि कुल बजेटको १ प्रतिशत मात्र बजेट छुट्टिएको अवस्थामा पनि वन संरक्षण सन्तोषजनक रहेको स्पष्ट पारे । उनले वनको अतिक्रमण र चोरी निकाशी रोक्न उच्च राजनीतिक प्रतिवद्धता आवश्यक रहेको भन्दै वन संरक्षणका लागि आवश्यक कानूनमा संशोधन गर्न आफूले पहल गरिरहेको बताए । मन्त्री भण्डारीले वन विज्ञान क्याम्पसले उत्पादन गर्ने जनशक्ति अझै सक्षम र योग्य हुनुपर्नेमा जोड दिंदै वन मन्त्रालय र वन विज्ञान अध्ययन संस्थानको सम्बन्ध अझै  मजबूत हुनुपर्ने खाँचो औंल्याए । वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री भण्डारीले संविधान संशोधन गरेर भएपनि विद्यमान राजनीतिक समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने–‘संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तह र प्रादेशिक तहको निर्वाचन सम्पन्न गरि केन्द्रीय संसद निर्माण गर्न आवश्यक भएकाले मधेश केन्द्रित दलहरुलाई सहमतिमा ल्याएर अघि बढ्नुको विकल्प छैन । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रभु बुढाथोकीले शिक्षालाई व्यवसायमुखी बनाउनुपर्नेमा जोड दिंदै मुलुकलाई संवृद्ध बनाउन विकासका पूर्वाधार तयार गर्न आवश्यक रहेको बताए । वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले  मुलुकको संवृद्धिका लागि कृषि, जलविद्युत, पर्यटन र औद्योगिकीकरणमा जोड दिंदै कृषि अन्तर्गत नै वन क्षेत्रको व्यवस्थापन गर्न सकिने स्पष्ट पारे ।  त्रिविवि योजना महाशाखाका प्रमुख प्रडा ऋदिषकुमार पोखरेलले अवको शिक्षित जनशक्ति विकसित मुलुकसंग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने भन्दै नेपालमा प्राविधिक शिक्षालाई कम महत्व दिइकोमा गुनासो गरे । उनका अनुुसार अन्य मुलुकमा ५० प्रतिशत विद्यार्थीहरु प्राविधिक विषय अध्ययन गर्ने गरेको भएपनि नेपालमा १५ प्रतिशत विद्यार्थीले मात्रै प्राविधिक शिक्षा अध्ययन गरेका छन् । त्रिविका प्राध्यापक विनोद प्रसाद हाइजूले वन विज्ञान अध्यन संस्थानबाट उत्पादित ८० प्रतिशत जनशक्ति सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत रहेको जानकारी दिए । वन विज्ञान क्याम्पसका लागि आवश्यक पूर्वाधार भएपनि विभिन्न चुनौति अझै कायम रहेको उनले बताए । वन विज्ञान अध्ययन संस्थानका सहायक डीन यज्ञ प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वन विज्ञान संस्थानको अपेक्षा विषयमा संस्थानका डीन प्रा.डा. कृष्णराज तिवारी, पोखरा क्याम्पसका प्रमुख डा.वीरबहादुर खनाल, सहायक डीन जीवनाथ पाण्डे लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 



Post a Comment

 
Top