0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपत्यका सहित हिमाली श्रृङ्खला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइन्ट पुम्दीकोटमा शिव भगवानको विशाल मूर्ति बन्ने भएको छ। पोखरा उप–महानगरपालिका–२५, पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको १०८ फिट अग्लो मूर्ति बनाउन लागिएको हो । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किलोमिटर दक्षिण पश्चिममा पर्ने पुम्दीकोटलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजना अनुसार मूर्ति स्थापना गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुम्दीकोट विशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबद्र्धन समितिले पुम्दीकोटको पर्यटक प्रबद्र्धनका लागि आगामी पाँच बर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी २१ करोडको योजना अघि सारेको छ। समितिका संयोजक चन्द्रकान्त बरालले महादेवको मूर्ति सहित शहिद स्मृति पार्क आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने र त्यसको लागि मात्रै ५ करोड २५ लाख खर्च अनुमान गरिएको बताए । पुम्दीकोटको झण्डै १७ रोपनी जमिन मध्ये १२ रोपनीमा भ्यू टावर, शिवको मूर्ति, शहिद स्मृति पार्क, आकर्षक वाटर फाउण्टेन, बहुउद्देश्यीय भवन, बगैचा लगायतका संरचना निर्माण गर्ने योजना छ । जमिन अनुसार यी सम्पूर्ण संरचनाको डिजाइन ड्रिम डेभलपर्स कन्सल्टेन्सीले बनाएको छ । मूर्तिसम्म पुग्नको लागि अपाङ्गमैत्री मार्ग समेतको डिजाइन गरिएको छ । सो स्थानमा झण्डै दुई सय मोटरसाइकल अट्न सक्ने पार्किङ समेत रहनेछ । यो योजनाको लागि चालु आर्थिक बर्षमा पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ । अन्य रकम अन्य सरकारी निकाय, स्थानीय स्तरमा रहेका विभिन्न संघसंस्था, स्थानीयवासी, विदेशमा रहेका नेपालीहरु लगायतबाट संकलन गरिने समितिले जनाएको छ ।  ‘यस कार्यका लागि सरकारी तथा निजी क्षेत्र सबै पक्षबाट सहयोग जुट्ने आशा गरेका छौं’–संयोजक बरालले भने–‘स्थानीयवासी बाट मात्रै झण्डै डेढ करोड संकलनको लक्ष्य छ । आर्थिक संकलनको लागि छिट्टै महायज्ञ समेत आयोजना गर्ने समितिको योजना छ । मंसिरको पहिलो साता भित्र शिबको मूर्ति र स्मृति पार्कको शिलान्यास गर्ने बरालले जानकारी दिए। यो योजनामा २५ लाख भन्दा बढी सहयोग गर्ने दाताको इच्छा अनुसार अर्धकदको शालिक समेत राखिने समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले सहयोग संकलनको लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता जनाए । पोखरामा रहेका सरकारी निकाय र पर्यटन संग सम्बन्धित संघ–संस्थालाई सहयोगको लागि आफूले अपिल गर्ने उनले बताए । बरालले पोखरा आएका पर्यटकको बसाइ लम्ब्याउनका लागि पनि आसपासको क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण हुनुपर्ने बताए । समुद्री सतहदेखि झण्डै १५ सय मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृष्यावलोकन का लागि यसअघि टावर निर्माण गरिसकिएको छ। जहाँबाट फेवाताल, हिमश्रृंखला, पोखरा उपत्यका प्रष्ट देख्न सकिन्छ । विश्वशान्ति स्तुपा पुग्ने पर्यटकलाई पुम्दीकोटसम्म पु¥याउने योजना अनुसार पूर्वाधार विकासको कामलाई तीब्रता दिने समितिको लक्ष्य छ । प्रचार–प्रसार र प्रबद्र्धनको अभावमा उत्कृष्ट दृश्यावलोकन स्थल भएरपनि छाँयामा रहेको पुम्दीकोटलाई पोखराको आकर्षक स्थल बनाउने माओबादी केन्द्रका नेता रामजी बरालले बताए । हाल पोखरा आउने पर्यटकको लागि दृश्याबलोकन स्थलको रुपमा सराङकोट लगिंदै आएको छ । पुम्दीकोटको प्रवद्र्धन गर्न सकेमा अझ उत्कृष्ट दृश्य देख्न सकिने स्थानीयको विश्वास छ । प्रबद्र्धनको अभावमा एकाध पर्यटक मात्रै पुग्ने पुम्दीकोटमा एक पटक पुगेका पर्यटक पुन फर्की–फर्की जाने गरेका छन् । सराङकोटमा सम्पूर्ण पर्यटकीय पूर्वाधार तयार भएकाले पनि पर्यटकको सहज आवतजावत हुने गरेको तर पुम्दीकोटमा पर्यटकिय पूर्वाधार नहुँदा पर्यटन पठाउन नसकिएको पर्यटन ब्यवसायीले बताए । पुम्दीकोट पुग्ने पर्यटकको लागि खाने, बस्ने र आवत–जावतको लागि सहज सडक ब्यवस्था भए पर्यटक पु¥याउन सकिने उनीहरुको ठहर छ ।

Post a Comment

 
Top