0
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले पहिलो पटक प्रधानमन्त्री बन्दाको जस्तो अहिले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको गुनासो गरेका हुन् । दोस्रोपटक प्रधानमन्त्री हुँदा हरेक दिन आफू खुकुरीको धारमा हिंड्नुपरेको प्रधानमन्त्री दाहालले गुनासो गरेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘पहिलोपटक प्रधानमन्त्री हुँदा जस्तो अहिले स्वतन्त्रतापूर्वक काम गर्न पाएको छैन । तेस्रो दल भएर प्रधानमन्त्री भएकोले पनि होला अहिले मैले हरेक निर्णय गर्दा खुकुरीको धारमा टेकेर गर्नुपरेको छ ।’ जटिल परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख दाहालले सबै राजनीतिक दल र शक्तिहरुलाई मिलाएर अघि बढ्नु नै सरकारको प्रमुख दायित्व भएको बताएका छन् । मुलुक अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै दाहालले राष्ट्रिय स्वाधिनता भन्दा भन्दै मुलुक नै विखण्डन हुने हो कि भन्ने चिन्ता लागेको बताए ।  उनले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि संविधानको फराकिलो स्वीकारोक्ति आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने,–‘देश संकटमा फसेको छ । यसबाट पार पाउन संविधानको स्वीकारोक्ति फराकिलो बनाउनु आवश्यक छ । सरकारको लागि यो अहिलेको सबैभन्दा ठूलो चूनौती रहेको छ । नेपालमा राजनीतिक घटनापछि परिवर्तनले स्थायित्व नपाउने गरेको दृष्टान्त दिदैं प्रधानमन्त्री दाहालले अहिले पनि राजनीतिक उपलब्धि संस्थागत नहुने हो कि भन्ने आफूलाई शंका लागेको बताए ।  दाहालले भने, ‘२००७, २०३६ र २०४६ सालमा राजनीतिक क्रान्ति भयो । क्रान्ति पछि हरेक पटक ठूला ठूला घटना भए र उपलब्धिहरु संस्थगात हुन सकेनन् । अहिले पनि मलाई प्राप्त उपलब्धि संस्थागत हुन नसक्ने हो कि भन्ने शंका लागेको छ । दाहालले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफूले राष्ट्रिय एकतालाई मजबुत पार्ने काम गरेको दाबी गरेका छन् । उनले भारत भ्रमणमा रहँदा, ब्रिक्सको बैठकमा जाँदा आफ्नो तागतले भ्याएसम्म राष्ट्रिय स्वाधिनता बचाउने काम गरेको दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले विगतमा बिग्रिएको विदेश नीति र धर्मराएको राष्ट्रिय एकतालाई मजबुत पार्ने काममा लाग्दा अन्य दलहरु आफूदेखि डराएको आरोप लगाएका छन् । दाहालले भने, ‘म प्रधानमन्त्री हुनु अघि विदेश नीति लडखडाएको थियो । राष्ट्रिय एकता धर्मराएको थियो । मैले राष्ट्रिय एकतालाई मजबुत पार्ने काम गरें । विदेश नीतिलाई सन्तुलित पार्ने काम गरें । म प्रधानमन्त्री भएएको पहिलो दिनदेखि नै सुरु गरेको मेरो यो अभियान केही दलहरुलाई चित्त बुझेको छैन । उनीहरु आत्तिएका छन् ।’








Post a Comment

 
Top