0
गोल्डेन न्यूज संवाददाता
पोखराको भलाममा स्थापित माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानले माधवप्रसाद पौडेलसँग सम्बन्धित स्मृति ग्रन्थको शनिबार एक समारोहका बिच लोर्कापण गरेकोे छ । ग्रन्थको माधवप्रसाद स्मृति भवन परिसरमा शिक्षाविद एवं स्व. माधवप्रसाद पौडेललाई ४ वर्षसम्म अध्यापन गरेका गुरु जोर्ज जोनले लोकार्पण गरेका थिए । कार्यक्रममा शिक्षाविद जोनले माधवप्रसाद पौडेल असल विद्यार्थी भएको स्मरण गरेका थिए । पृथ्वीनारायण क्याम्पसको स्थापनाकालीन भौतिक पूर्वाधार निर्माण र वातावरण संरक्षणमा भलामका विद्यार्थीहरु मध्ये माधवप्रसाद पौडेलले अग्रणी भूमिका खेलेको स्मरण गर्दै प्राध्यापक जोर्ज जोनले माधवप्रसाद पौडेल एक सरल र आदर्श विद्यार्थी रहेको र त्यस्ता विद्यार्थीको गुरु हुँदा आफूलाई गौरव महशुश हुने गरेको जानकारी गराएका थिए । आफूले अध्यापन गरुञ्जेल माधव कुन विचारधाराको विद्यार्थी हो भन्ने आफूले थाहा नपाएको उनले खुलासा गरेका थिए । कार्यक्रमका नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले माधवप्रसाद पौडेलबाट आफूले बाटुलेचौरमा विद्यार्थी रहँदा धेरै कुरा सिकेको र उहाँका आदर्श गुणहरु, सादा जीवन उच्च विचार, राजनीति र समाजसेवालाई सँगै लैजाने धारणा, गीताको कर्मयोगलाई राजनीतिमा संयोजन गर्ने जस्ता विशेष कुराहरु माधव दाजुबाट सिक्ने प्रयास गरिरहेको बताएका थिए । राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, आध्यात्मिक लगायतका धेरै क्षेत्रमा माधव पौडेलबाट धेरै सिक्नुपर्ने कुरा रहेको र स्मृति ग्रन्थको प्रकाशन पछि अझ माधव दाइले गरेका योगदानको पछिका पुस्ताहरुले सिक्न सजिलो हुने बताएका थिए । प्रकाशित माधवप्रसाद पौडेल स्मृति ग्रन्थका तर्फबाट माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानका सचिव इश्वरीप्रसाद पौडेलले प्रकासकीय पढेर सुनाएका थिए भने सम्पादक मण्डलका तर्फबाट संयोजक वामदेव पौड्यालले माधवप्रसाद पौडेलको स्मृति ग्रन्थ तयार पार्दा आफू र आफ्नो समुहका छ जना सदस्य अहोरात्र लागिपरेको बारेमा जानकारी गराउँदै स्मृति ग्रन्थ आफूहरुको नभई स्मृति ग्रन्थमा लेख प्रदान गर्ने महानुभावहरुको रहेको र आफूहरुले विषयवस्तुको सहज संयोजन गरी बोध्य र पठनीय बनाउने इमान्दार प्रयास गर्दा सम्पादकको धारिलो कैँची नलाएको जानकारी गराएका थिए । माधवप्रसाद पौडेलको नाममा स्मृति गन्थ तयार पार्न आफूहरु तीन वर्षदेखि लागिपर्दा मात्र बल्ल कृति प्रकाशन गर्न सकिएको र यस उपलब्धिमा सबैको सहिभागिता रहेको हुँदा सबै लेखक रचनाकार धन्यवादका पात्र भएको प्रधान सम्पादक पौड्यालले बताएका थिए । प्रकाशित कृतिको समीक्षा गर्दै नेपाली विषयका प्राध्यापक रघुनाथ अधिकारीले कृति समीक्षा सजिलो नभएको र नगरी पनि नहुने भएकाले आफूले त्यही अनुसारको समीक्षा गर्न लागेको कुरा खुलस्त पारेका थिए । समीक्षक अधिकारीका अनुसार माधवप्रसाद पौडेल स्मृति ग्रन्थमा एक सय तेत्तीस बटा लेख रचना समावेश भएका र तीन जना बाहेक अन्य लेखकहरु नदोहोरिएको जानकारी गराउँदै राजनीतिक नेताहरु बाहेकका लेखमा माधवप्रसाद पौडेलको समाज बुझ्ने भन्दा सामाजिक परिवर्तन गर्ने, अध्यात्मवादलाई माक्र्सवादसँग मिलाएर लैजाने शैली, सादा जीवन उच्च विचार अवलम्वन गर्ने, गीता दर्शन व्यवहारिक रुपमा लागू गर्ने जस्ता उल्लेखनीय कुरा अवको पुस्ताले उहाँबाट सिक्न सक्ने कुरा स्मृति ग्रन्थले सबैको सामु उद्घाटन गरेको कुरा बताएका थिए । माधवप्रसाद पौडेललाई राजनीतिक भन्दा सामाजिक, शैक्षिक र आध्यात्मिक कोणबाट चर्चा गरिनु उपयुक्त रहेको समीक्षक अधिकारीको धारणा रहेकोे थियो । स्मृति ग्रन्थमा प्रकाशित केही रचनाहरु स्व. माधवप्रसाद पौडेलका जेष्ठ सुपुत्र एवं सम्पादक मण्डलका सदस्य जगतराज पोडेलले वाचन गरेर सुनाएका थिए । माधव स्मृति प्रतिष्ठानका सचिव इश्वरी पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रामजीप्रसाद पौडेलले गरेका थिए ।

Post a Comment

 
Top