0
गोल्डेन न्यूज संवाददाता
गत बर्षको चैत्र २० गते पोखरा–१७ छोरेपाटन स्थित स्थल पातलेछाँगो (डेभिडफल्स) मा हामफालेर काभ्रेको वनेपा नगरपालिका ९ का ५६ वर्षीय जुजुकाजी शाक्यले ज्यान गुमाए । काभ्रेका धनाढ्य शाक्य आत्महत्याकै लागि काभ्रेदेखि काठमाडौं हुदै पोखराको पातलेछाँगो सम्म आइपुगेका थिए । गत बैंशाख १६ गते साझ पोखरा १७ बिरौटाका ४८ बर्षीय हितकाजी गुरुङले पनि आत्महत्याको थलो पातलेछाँगोलाई नै बनाए । छाँगोमा हामफालेका उनको शब भोलिपल्ट विहान फेला परेको थियो । त्यस्तै गएको साउन ६ गते पातलेछाँगोमै १७ बर्षदेखि कार्यरत कर्मचारी दिपेन्द्र पौडेलले छाँगोमै हामफालेर देह त्याग गरे । ५४ बर्षीय पौडेलले आत्महत्याको स्थल झण्डै दुई दशकदेखि आफैले काम गर्दै आएको थलोलाई बनाए । उनको पनि शब भोलिपल्ट फुस्रे खोलामा भेटियो । चार महिनाको बीचमा तीन जनाले छाँगोमा हामफालेर ज्यान गुमाएपछि पोखराको पर्यटकीय स्थल पातलेछाँगो (डेभिडफल्स) आत्महत्या गर्ने थलो (सुसाईड प्वाइट) को रुपमा चिनिन थाल्यो । छाँगो वरपर सुरक्षाको लागि लगाइएको फलामे वार होचो भएकै कारण नाँघेर थुप्रैले छाँगोमा हामफाले । विभिन्न कारणले जीन्दगीबाट विरत्तिएकाहरु छाँगो अबलोकनको वहानामा टिकट काटेर भित्र छिर्ने र मौका हेरेर बार नाघेर हामफाल्दा पर्यटकीय स्थलकै छवि धमिलिन थालेको थियो । पातलेछाँगो ब्यवस्थापनको जिम्मेवारी लिएको छोरेपाटन मावि ब्यवस्थापन समितिले अबलोकनकर्ताको सुरक्षा र संभावित घटनालाई लक्षित गरी साविकको फलामेबार हटाइ नयाँ बार लगाएको छ । पुरानो झण्डै साढे तीन फिटको फलामेबार हटाएर अहिले झण्डै साढे ६ फिटको बार लगाइएको हो । नयाँ बार लगाउन झण्डै साढे १० लाख रुपैया खर्च भएको भौतिक विकास तथा निर्माण उपसमिति संयोजक चित्रराज बरालले जानकारी दिए । ‘पछिल्लो समय छाँगोमा हामफाल्ने नियतले भित्र पस्नेहरुको संख्या बढेपछि सुरक्षाको लागि पनि थप उचाइ सहितको नयाँ बार लगाइएको हो,’ बरालले भने–‘अब अबलोकनकर्ता पूर्ण सुरक्षित हुनेछन् ।’ पुरानो बार बिस्थापित गरेर पूर्ण रुपमा मजबुद नयाँ फलामे जिआई पाइपको बार लगाइएको उनले बताए । पोखरा आउने पर्यटक मध्ये अधिकांश पातलेछाागो अवलोकनको लागि पुग्छन् । यो छागोबाट हुने आम्दानी मध्ये छोरेपाटन मावि ब्यवस्थापनको लागि ६० र छाँगो ब्यवस्थापनको लागि ४० प्रतिशत छुट्याइएको छ । सन् १९६१ जुलाई ३१ म स्विस नागरिक डेभिडको छाँगोमा खसेर मृत्यु भएको थियो । उनको शव तीन दिन पछि फुस्रे खोलामा फेला परेको थियो । सोहि बेला देखि पातलेछाागोलाई डेभिडफल्सको नामबाट पनि चिनिन्छ। फेवातालबाट निस्किएको पानी यो छाँगोमा अकर्षक रुपमा खसेको दृष्य नियाल्न बार्षिक लाखौ पर्यटन आउछन् । पातलेछाागोबाट खसेको पानी गुप्तेश्वर गुफा भित्र छिरेर देख्न सकिन्छ । तर त्यस भन्दा तल भूमिगत भएको पानी फुस्रे खोलामा निस्किएको छ ।

Post a Comment

 
Top