0
गोल्डेन न्यूज संवाददाता
नेपाल, भारत र चीन ‘त्रिदेशीय रणनीतिक साझेदारी’ निर्माण गर्न आपसमा सहमत भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । भारतको गोवामा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई एकैसाथमा राखेर ‘त्रिदेशीय रणनीतिक साझेदारी’ को प्रस्ताव राखेको  प्रचण्डको सचिवालयले बताएको हो। शनिबार साँझ प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई भेटेका थिए । त्यसपछि आज आइतबार भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डवीच भेट गर्ने कार्यसूची थियो । तर, कार्यसूचीमै नपरे पनि मोदीले शनिबार नै सी जिनपिङसहित प्रचण्डसँग त्रिपक्षीय छलफल गरेका छन् । यो छलफल नेपालको इतिहासमा कोशेढुंगा भएको प्रचण्डको दाबी छ । भेटमा प्रचण्डले दुई छिमेकीप्रति नेपालको समदुरीको सम्बन्ध रहेको र नेपालले भारत र चीनलाई जोड्ने पुलको काम गर्ने भन्दै त्रिदेशीय रणनीतिक साझेदारीको नयाँ प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री प्रचण्ड, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ब्रिक्स र बिमिस्टेक देशहरुबीचको आउटरिच सम्मेलनको अघिल्लो दिन भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच २० मिनेट ‘वान टु वान’ वार्तालगत्तै प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति पिङबीच त्रिपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकमा स्मरण गराए ।

‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे महत्व दिएर कुरा राखें । प्रधानमन्त्री प्रचण्डले अगाडि भने–‘भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल जसरी भारत र चीनको बीचमा छ, वार्ताका क्रममा पनि भारत र चीनका बीचमै नेपाल थियो । हाम्रो छलफल निकै सौहार्दपूर्ण रहृयो । नेपालले उठाएको रणनीतिक साझेदारीको प्रस्तावमा दुवै नेताहरुले उत्साहित भएर समर्थन गर्नुभएको छ ।भेटमा प्रधानमन्त्री प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराएका थिए । आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्न सक्ने प्रचण्डले दुबै देशहका सरकार प्रमुखहरुलाई बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको मोदी र सीलाई स्मरण गराएका थिए । नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको द्वीपक्षीय भेटपछि भएको यो त्रीपक्षीय वार्ताले नेपाल, भारत र चीनबीच युगीन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्न सक्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । त्रिपक्षीय भेटका अवसरमा चिनियाँ राष्ट्रपति सीले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्न सक्ने बताएको प्रचण्डको निजी सचिवालयको भनाइ छ । सचिवालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सीले नेपालबाट प्रस्तावित त्रिदेशीय साझेदारीको मुद्दा महत्वपूर्ण रहेको र यसमा चीन सकारात्मक रहेको बताएका थिए । सीले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । भेट वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक एवं सांस्कृतिक मित्रता रहेको भेटमा बताए । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिएको प्रचण्डको सचिवालयले दाबी गरेको छ । मोदीले त्रिपक्षीय भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सीको गाउँका दार्श्निक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन र्फकेपछि गुजरातको संस्कृति र रहन(सहनबारे चीनमा प्रचार गरेको स्मरण गरेका थिए । प्रचण्डले अगाडि सारेको त्रिदेशीय रणनीतिक साझेदारीको स्पष्ट खाका भने ल्याइएको छैन ।


Post a Comment

 
Top