0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पोखरा र लेखनाथ नगरपालिका समेटेर पोखरा उपत्यका एकीकृत प्राधिकरण गठन गर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पोखरा उपत्यका नगर विकास समिति नाममात्रैको भएकोले प्राधिकरणको आवश्यकता महसूस भएको बताए । मुलुकका अन्य नगर र उपत्यकामा पनि एकीकृत प्राधिकरण बनाउनुपर्ने खाँचो औंल्याउँदै मन्त्री केसीले आफ्नो पहिलो प्राथमिकता भने पोखरा उपत्यका एकीकृत प्राधिकरण गठन गर्ने नै रहेको स्पष्ट पारे । उनले भने–‘मैले छिट्टै नै पोखरा उपत्यका प्राधिकरण बनाउने सोचेको छु । यसका लागि प्राधिकरणको छाता ऐन बनाएर सोही बमोजिम पोखरा लगायत विभिन्न स्थानमा प्राधिकरण गठन गरिनेछ । मन्त्री केसीले नगर विकास समिति नाम मात्रको भएपनि यसलाई नगरको सरसफाइ र हरियाली बनाउने निकायको रुपमा विकास गर्ने सोचाइमा आफू रहेको बताए । अब बन्ने नयाँ भवनहरु भवन आचारसंहिता अनुसार भूकम्प प्रतिरोधी निर्माण हुने उनको भनाइ थियो । मुलुकको राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य केसीले संविधान निर्माणकर्ता प्रमुख ३ दल र मधेशी मोर्चा समेतलाई संगै राखेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘हामी सबै अहिले एउटै डुङ्गामा छौं, दुर्घटना भए सबै डुब्छौं । त्यसैले प्रतिपक्ष दलहरुले पनि आपसी तिक्तता छोडेर अराजकता र अन्तद्र्वन्द आउन नदिन जिम्मेवार भएर सोच्नुपर्दछ’–उनले भने । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यतामा भएको कार्यक्रममा सचिव प्रकाश चन्द्र सापकोटा र सदस्य सरिता पगेनीले बोलेका थिए ।


Post a Comment

 
Top