0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले नेपाली कांग्रेसले आफ्नो संगठन सुदृढ पार्नका लागि जग नै बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस पोखरा–५ वडा कार्यसमितिले आइतबार कास्की क्षेत्र नं. ३ को क्षेत्रीय समितिको समन्वयमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले कांग्रेसको जग बलियो बनाउन सके संगठन सुदृढ हुने बताए । पार्टीका जिल्ला तहमामात्र नभएर क्षेत्रीय तथा नगर र गाउँ एवं वडा तहमा संगठन बलियो भएमा कांग्रेस देशव्यापी रुपमा बलियो हुने भन्दै मन्त्री थामीले चुनाव हुन्छ भन्ने सोचेर तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले माओवादी लगायत कम्युनिष्ट पार्टीहरु सस्तो लोकप्रियताका लागि मात्र काम गर्ने गरेको भन्दै लोकतन्त्र र गणतन्त्र सहितका उपलव्धि प्राप्त गर्न र तिनको रक्षा गर्दै संस्थागत बनाउन कांग्रेसकै नेतृत्व आवश्यक रहेको बताए । अब संविधान कार्यान्वयन गर्न पनि कांग्रेसले सत्तारुढ दलका साथै प्रतिपक्षी एमाले र मधेशी मोर्चाहरु संग मिलेर महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस वडा कार्यसमिति ५ का सभापति फणिन्द्रराज पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा सांसदद्वय शारदा पौडेल र वृन्दा राना, पार्टीका जिल्ला सभापति कृष्ण केसी, क्षेत्रीय सभापति विजयराज आचार्य, महाधिवेशन प्रतिनिधि देवराज चालिसे, नगर सभापति बजिरमान श्रेष्ठ, वडा समितिका पूर्व सभापति भरतराज पोडेल र सचिव पार्वती देवी कोइराला लगायतले बोलेका थिए । वडा समितिले आयोजना गरेको उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।





Post a Comment

 
Top