0
गोल्डेन न्यूज संवाददाता
हाइड्रो पावरमा सोचेअनुरुप किन लगानी आकर्षित भएन ? सर्वसाधारण नेपालीकै लगानीबाट हाइड्रो पावर बनाउन सकिन्छ कि सकिदैन ? लोडसेडिङको अन्त्य कहिले हुन्छ ? यी र यस्तै प्रश्नहरुको उत्तर दिन जलविद्युत विज्ञ ज्ञानेन्द्रलाल प्रधान पोखरा आउँदैछन् । लेकसाइडको होटल स्नोल्यान्डले उद्यमशीलता प्रवद्र्धनका लागि गर्ने मासिक शृंखला ‘क्रस दी बोर्डर’मा प्रधानलाई निम्त्याउँदै छ । उद्यमशिलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को छैठौं शृंखला कात्तिक १२ गते शुक्रबार हुँदैछ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुन्छ । होटल सञ्चालक गणेशबहादुर थापाले हाइड्रो पावरमा लगानीको अवसर र चुनौतीबारे जान्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । उनले ऊर्जा बहसले महत्व पाइरहेकाले आगामी शृंखलामा हाइड्रो पावर विज्ञ ज्ञानेन्द्रलाल प्रधानलाई निम्त्याएको बताए । उनले भने,–‘जलविद्युतमा लगानी गर्न इच्छुक लगानीकर्ता र युवा उद्यमीका लागि कार्यक्रम फलदायी हुने छ ।’ प्रवेश निःशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ । हाइड्रो सोलुसन्सका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् । महासंघ अन्तर्गतको ‘ऊर्जा समिति’का अध्यक्ष प्रधान इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले मौलना आजाद कलेज अफ टेक्नोलोजी  (एमएसिटी) भारतबाट जलविद्युतमा विशिष्ट अध्ययन सहित ब्याचलर अफ इन्जिनियरिङ गरेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार समितिका सदस्य रहिसकेका प्रधान ‘एचएसएल क्यापिटल’, एचएसएल इन्जिनियरिङ’, ‘एचएसएल कन्स्ट्रक्सन’, ‘त्रिशक्ति केबल इन्डस्ट्रिज’ तथा रिसोर्सेस हिमालय बुटिक रिसोर्टका पनि कार्यकारी अध्यक्ष हुन् । उनी सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल–रसिया, नेपाल–चाइना र नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा कार्यकारी सदस्यको भूमिकामा छन् । रोटरी क्लब अफ काष्ठमण्डपका पूर्व सभापति प्रधान जलविद्युत सम्बन्धी थुप्रै कम्पनीसँग आबद्ध छन् । ‘एक्सिलेन्स अवार्ड इन इनर्जी २०१०’, ‘उत्कृष्ट उद्यमी’, ‘बेस्ट म्यानेजर अफ दी इयर २००६’ लगायत अवार्ड प्राप्त गरेका प्रधानले झण्डै दुई दर्जन मुलुकको भ्रमण गरेका छन् ।






Post a Comment

 
Top