0
पोखरामा बृहत रुपमा संचालन भएको फिर्के–बुलौंदी सफाइ अभियान १८औं श्रृंखला पार गर्दै ड्यामसाइडस्थित फेवाताल किनारमा पुगी शनिबार सम्पन्न भएको छ । नागरिक समाज पोखराको विशेष पहलमा विश्व वातावरण दिवस अवसरमा जेठ २२ गते फिर्केको मुहान अँधेरीकुनादेखि सुरु अभियानमा हजारौंको सहभागिता रह्यो। दर्जनौं संघसंस्थाले अभियानलाई साथ दिँदै ऐक्यवद्धता जनाए । श्रृंखला समापन अवसरका प्रमुख अतिथि बागमती सफाइ महाअभियानका मुख्य अभियन्ता पूर्व मुख्यसचिव लीलामणि पौडेलले सफाइ अभियानको प्रशंसा गर्दै नेपालका विभिन्न ठाउँमा जारी सफाइ अभियानमध्ये पोखराको अभियान उत्कृष्ट रहेको बताए । सुरुवात र समापन दुबै श्रृंखलामा सहभागी उनले यो श्रृंखला समापन भए पनि बृहत पोखरा सफाइ अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उनले सहभागी सम्पूर्णलाई सफाइ सचेतनाबारे सपथ खुवाएका थिए । यस्तै, अभियानमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै अभियान संयोजक रामबहादुर पौडेलले फेवातालसँग जोडिएको फिर्के–बुलौंदी सफाइ अभियान पहिलो चरणमा सकिए पनि यस्ता श्रृंखला पोखराका विभिन्न ठाउँमा सुरुवात गर्ने जानकारी दिए ।  संयोजक पौडेलले पोखरा उपत्यकाव्यापी दोस्रो बृहत सरसफाइ अभियान आरम्भको उद्घोषसमेत गरे । जसअनुसार अर्को साता पोखरा १, बगर गाईघाटबाट सफाइ अभियान सुरुवात हुनेछ । यता, झण्डै ४ महिना चलेको उक्त अभियानमा ३ सय ३५ टन फोहोर संकलन भएको छ भने करिब ४६ हजार मानिसले सहभागिता जनाएको अभियन्ता सुनिल पौडेलले जानकारी दिए । त्यस्तै, करिब १ सय १५ बढी संघसंस्थाले ऐक्यवद्धता जनाउँदै फोहोर संकलनमा साथ दिए । ९ किमी लामो फिर्केखोला र ३ दशमलब ५ किमीको बुलौंदी सफाइ गरिएको हो । अभियानसँगै सर्वसाधारणमा सरसफाइप्रति सचेतनाको बिजारोपणसँगै पोखरा उपमहानगरपालिका पनि नगरको नियमित फोहोर संकलनमा सजग हुन बाध्य भएको छ । १८औं श्रृंखलाको सांसद् शारदा पौडेलले राष्ट्रिय गान बजाएर सफाइ कार्यक्रम सुरुवात गरेकी थिइन् । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले अभियानलाई निरन्तरता दिनुपर्ने बताए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा कैलाश विकास बैंकका तर्फबाट सफाइ अभियानका लागि ५० थान डोको, ५ सय थान सेफ्टी ग्लोब कार्यकारी अधिकृत कुँवरलाई बैंकका संचालक नारायण बराल र गोापलप्रसाद पौडेलले हस्तान्तरण गरेका थिए । निरन्तर सहभागी मुक्तिनाथ विकास बैंकले शनिबार पनि १ हजार मास्क र डिस्पोजल ग्लोब हस्तान्तरण गरेको थियो । मितेरी नारी समूह बैदामले पिउनेपानी प्रबन्ध गरेको थियो  वैदाम प्रहरी चौकीदेखि ड्यामसाइडस्थित फेवाताल किनारसम्म भएको उक्त श्रृंखलामा करिब १६ टन फोहोर मैला संकलन भएको छ । अभियानमा विभिन्न आमा समूह, क्लब, टोल विकास संस्था, सरकारी निकाय, स्थानीय प्रशासन, विभिन्न संघसंस्था, सर्वसाधारणलगायतले साथ दिएका थिए ।

Post a Comment

 
Top