0
गोल्डेन न्यूज संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजाकालिन शाही आयोग भन्दापनि अपवित्र ढंगले अख्तियार चलाएको भन्दै उनीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिने संकेत दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै देउवाले अख्तियार प्रमुख कार्कीलाई आफूले धेरैपटक सम्झाउँदा समेत नमानेको दुःखेसो पोखेका थिए । उनले कार्की राजा भन्दापनि अघि बढेर निरंकुश शैली अपनाउन खोजेको भन्दै उनी बिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको विपक्षमा पार्टी जान अप्ठ्यारो पर्ने बताएका हुन् ।  तर, देउवाले महाअभियोगको प्रस्ताव दर्ता हुँदैछ भन्नेबारे आफूलाई प्रमुख विपक्षी दलका नेता केपी ओलीले प्रष्ट नभनेको बैठकमा जानकारी दिएका थिए । ’ओलीजीले हिजो (बुधबार) बेलुका म र प्रधानमन्त्रीजीलाई बोलाउनु भयो । मैले ठाने स्थानीय तहको पुर्नसंरचनाको बिषयमा छलफल होला । तर, एकैचोटी लोकामानजीले गलत काम गरे महाअभियोगको प्रस्ताव ल्याउनु पर्छ भन्नुभयो’ देउवाले बैठकमा भनेको भनाई उद्धृत गर्दे स्रोृतले भन्यो,’–महाअभियोगको प्रस्ताव आएको जानकारी प्रधानमन्त्रीजीले राति १० बजे टेलिफोन गरेपछि मात्रै थाह भयो ।’ देउवाले आफ्नो पार्टीको बैठक बस्दै गरेकाले त्यहाँसम्म पर्खन आग्रह गरेको बताएका थिए । बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रमुख आयुक्त कार्कीको कामकारवाही अदालतको न्याय सम्पादनलाई असयोग गर्ने खालको भएकाले तत्काल सभापतिले प्रस्ताव ल्याएर महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने माग राखेका थिए । यसमा धेरै छलफल गराईराख्न आवश्यक छैन, सभापतिजीले प्रस्ताव ल्याएर निर्णय लिनुपर्छ’ सिटौलाको भनाई थियो,’अदालतको न्याय सम्पादनमा जसरी उनले असहयोग गरेका छन यसलाई बचाउन सकिदैन । बैठकमा कांग्रेस नेता गगन थापा कार्कीको नियुक्तिमा ऐतिहासिक गल्ती भएको बताउँदै त्यसलाई सच्चयाउने अवसर आएको बताए ।  अख्तियार प्रमुख कार्कीले राज्य संयन्त्रलार्य नै भ्रष्ट बनाएको बताउँदै पार्टीले घाटा नाफा नहेरी महाअभियोगको प्रस्तावको पक्षमा निर्णय लिनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले महाअभियोगको प्रस्तावको विपक्षमा जादा पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने बताउदै महाअभियोगको कसले नेतृत्व गर्यो भन्ने बिषयलाई भन्दापनि कार्कीको गलत कामको बिरुद्ध उत्रनु पर्ने बताए । बिहीबार ९ जना केन्द्रीय सदस्यले बोलेकोमा केन्द्रीय सदस्य रामशरण महतले भने महाअभियोगको प्रस्तावको पक्ष र विपक्षमा अहिल्यै निर्णय लिन नहुने बताए । उनले सरकारको मुख्य साझेदार कांग्रेसलाई जानकारी नदिई माओवादी केन्द्रले प्रमुख विपक्षसँग मिलेर महाअभियोगको प्रस्ताव दर्ता गर्नु सामान्य अवस्था नरहेको बताउँदै पार्टीले अहिल्यै कुनै निर्णय लिन नहुने बताएका हुन । केन्द्रीय सदस्य महेश आचार्य, कल्याण गुरुङ र रामकृष्ण यादवले लोकमान कार्कीको बिषयमा नबोली स्थानीय निकायको पुर्नसंरचनाको बिषयमा धारणा राखेका थिए । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँगको कुराकानीमा महाअभियोगको प्रस्तावमा आफूलाई थाहनै नदिई हस्ताक्षर भएको बताएको जानकारी दिएका थिए ।

Post a Comment

 
Top