0
गोल्डेन न्यूज संवाददाता
नेपालीहरुको महान पर्व विजया दशमी पर्व लगत्तै पोखरामा आन्तरिक पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । दशैं पर्वको अघिल्लो दिनसम्म प्रतिकुल मौसम पानी परेको र पोखरा आउने केहि ठाँउको सडक अवरोध भएको कारणले गर्दा पोखरा आउने गरेका आन्तरीक पर्यटकहरु यस बर्ष दशैं लगतै उल्लेखनीयरुपमा आएको व्यवसायीहरुले बताएका छन । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले दशैं पर्वको भोलिपल्टदेखि पोखरामा आपूmहरुले सोचेको भन्दा बढी आनतरिक पर्यटकहरु आएको बताए । उनले भने–‘पर्यटनको सिजनमा छोटो समयको लागि आन्तरीक पर्यटकहरुको आगमनले गर्दा पनि हामीमा थप उत्साह थपेको छ, यस सिजनमा गत बर्षको तुलनामा भन्दा धेरै पर्यटकहरु पोखरा भित्रिन्छन ।’ पर्यटनको सिजन अक्टुवरमा जुन रुपमा पोखरामा पर्यटकहरु आउनु पर्ने सोहि अनुसार नआएको बताएका पराजुलीले नोवेम्वरमा केहि सुधार हुने आशा राखेका छन । पोखरामा हाल पर्यटकीय स्तरीय होटलको करीब ६० प्रतिशत जसो अकुपेन्सी भएको बताएका उनले नोवेम्वरमा ८०÷८५ प्रतिशत पुग्ने विश्वास लिएका छन । काठमाडौंदेखि पोखरा र चितवनदेखि पोखरा आउने सडक मार्गको समेत हाल समस्या भएकोले गर्दा यस बर्ष दशैं पर्व भन्दा अघि खासै आन्तरिक पर्यटक बृद्धि नभए पनि दशैं लगतै केहि दिन आन्तरिक पर्यटकहरुको सङख्यामा बृद्धि भएको अध्यक्ष पराजुलीले बताए । 
उनले भने–‘भूकम्पपछि तातोपानी नाकामा वन्द हुनाले पनि चाईनिज पर्यटकहरुको सङख्यामा कमि आएको हो ।’ साना तथा मझौला होटलहरुमा भने ३० प्रतिशत जसो होटलमा अकुपेन्सी रहेको उनले बताए । होटल पिस प्लाजाका संचालक समेत रहेका पराजुलीले यस सिजनमा एक दिन मात्र आफ्नो होटलमा अकुपेन्सी फूल भएको बताए । पश्चिमाञ्चल होटल संघमा करिब ४ सय पर्यटकस्तरीय होटल दर्ता भएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । उत्तिकै सङख्यामा पोखरा क्षेत्रमा होटल संचालन भएका छन ।
पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले गत बर्षको भन्दा यस बर्ष पर्यटकहरुको संख्यामा बृद्धि हुने दावी गरे । उनले भने–‘गत बर्ष भूकम्प र नाकावन्दीले गर्दा पोखरामा करीब ४ लाख पर्यटक भित्रिए पनि यस बर्ष त्यो सङख्या भन्दा बढी हुने छ, पोखरामा हाल पर्यटकहरु देखिए पनि गुणस्तरीय पर्यटकहरुको संख्या भने न्यून नै छ ।’ पोखरा आएका पर्यटकहरुले यहाँ रहेका पर्यटकीय गतिविधिहरुमा समेत कम सहभागी हुने गरेको थापाले बताए ।
पर्यटनको गन्तव्यको रुपमा रहेको पोखरामा यस बर्षको पर्यटनको सिजनमा भने गत बर्षको तुलनामा सन्तोसजनक पर्यटकहरुको आगमन हुदै गरेको व्यवसायीहरु बताउँछन । गत बर्ष भूकम्प र नाकावन्दीले प्रभावित भएको पर्यटन क्षेत्र यस बर्ष भने आशलाग्दो ढंगले पर्यटकहरुको आगमनमा बृद्धि भएकोे पर्यटन व्यवसायीहरुको भनाई छ ।
पोखराको पाँच तारे होटल ग्रान्डमा हाल ६० प्रतिशत होटल अकुपेन्सी रहेको सेल्स म्यानेजर कमल शेरचनले बताए । पर्यटनको सिजन अक्टुवर नोवेम्वरमा ९६ प्रतिशत जसो अकुपेन्सी फुल हुने समयमा यस बर्ष नोवेम्वरमा भने केहि सुधार भएर ८५ प्रतिशत पुग्ने उनले विश्वास लिएका छन ।
ग्राण्डमा ६ वटा स्वीट रुम सहित एक सय ४० रुम रहेका छन । होटल बाराहीका संचालक विप्लप पौडेलका अनुसार सडक मार्ग राम्रो नभएको कारणले गर्दा यस बर्षको दशैंको अवसरमा दुई–तीन दिनमा पोखरामा आन्तरीक पर्यटकहरुको चहल पहल भयो । देशको राजनीतिक अवस्था र भूकम्पले गर्दा थलिएको पर्यटन प्रवद्र्धन हुन नसकेर पहिलाको अबस्थामा फर्किन कठिन भएको उनले बताए । 
हाल ७० प्रतिशत जसो आफ्नो होटलमा अकुपेन्सी भएको बताएका उनले नोवेम्वरमा भने ४५ प्रतिशत अग्रिम वुकिङ भएको बताए । होटल साग्रिला भिलेज रिसोर्टका पव्लिक रिलेसन म्यानेजर अर्जुन मैनालीले हाल साग्रिलामा ७० प्रतिशत अकुपेन्सी रहेको बताए । चाईनिज, भारतीय र युरोपियन मूलका पर्यटकहरु हाल पोखरामा बढी आएको उनले बताए । होटल ल्याण्डमार्गका सेल्स म्यानेजर पुष्पराज चालिसेले हाल होटलमा ६० प्रतिशत अकुपेन्सी रहेको बताएका उनले नोवेम्वरमा भने सुधार हुने बताए ।
पोखरामा कति पर्यटक भित्रिए भन्ने हालसम्म कुनै निकायले पनि सहि ढंगले तथ्याङ्क राख्ने गरेको छैन । काठमाडौं आउने करीब ४० प्रतिशत पर्यटक पोखरा आउने अनुमान गरिन्छ । हवाई मार्गबाट पोखरा आउने पर्यटकहरुको मात्र लगत भेट्न सकिन्छ । क्षेत्रीय नाट्टा संघ पोखराका अध्यक्ष दिल गौतमले दशैंको भोलिपल्टदेखि आईतबार सम्म पर्यटक वसमा गत यात्रुहरुले चाहे अनुसारको आफूहरुले सेवा दिन नसकेको बताए । आन्तरिक पर्यटकहरुको संख्यामा बृद्धि भएसंगै आफूहरुले हाल दैनिक सेवा दिंदै आएको २५ वटा बसबाट करिब ८ सय ७५ जना पर्यटकलाई एक पटकमा सेवा दिएको उनले जनाए । पोखरामा गत बर्षको तुलनामा विदेशी पर्यटकहरुको संख्यामा बृद्धि भएको गौतमले दाबी गरे ।

Post a Comment

 
Top