0
गोल्डेन न्यूज संवाददाता
सुरक्षा प्रयोजनका लागि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा राखिएको सिसि क्यामेरा बिग्रिएपछि पुनः नयाँ जडान गरिएको छ । लेकसाईडका विभिन्न स्थानमा राखिएको १४ वटा सिसि क्यामेरा बिग्रिएको एक बर्षपछि नयाँ जडान गरिएको हो । नयाँ जडान गरिएको क्यामेरा उच्च प्रविधि युक्त छन् । मुख्य स्थानहरु सहहदचोक, जरेवर, खहरे र हल्लनचोकमा चारैतिर घुमाएर हेर्न मिल्ने पिटिजे क्यामेरा जडान गरिएको छ । अन्य स्थानमा जडान गरिएको क्यामेरा पनि फोरएक्स जुम आईपि क्यामेरा रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । यसअघि लेकसाईडका स्थानियवासी र नेपाल प्रहरीको सक्रियतामा रु १९ लाख खर्चिएर जडान गरिएको १४ वटा सिसि क्यामेरा सबै विग्रिएका थिए । पहिले जडान गरिएको क्यामेरा न्यून गुणस्तरको भएकाले मर्मत गरी पुन प्रयोगको लागि पनि उपयुक्त नभएपछि नयाँ जडान गरिएको हो । पर्यटकीय क्षेत्रमा हुन सक्ने उश्रृङ्खल गतिबिधि र संभावित दुर्घटना नियन्त्रणका लागि बैदामको खहरेदेखि शहिद चोकसम्म ४ किलोमिटर क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको हो । ‘पहिले जडान गरिएको क्यामेरा एउटा पनि काम नलाग्ने भएपछि नयाँ जडान गरिएको हो’–प्रहरी निरीक्षक अधिकारीले भने । अहिले लेकसाईडका विभिन्न स्थानमा जडित ११ वटा नयाँ सिसि क्यामेरा २४ सै घण्टा सञ्चालनमा छन् । वडा प्रहरी कार्यालय बैदाममा नियन्त्रण कक्ष राखिएको छ । प्रहरीले पर्यटकिय क्षेत्रको गतिविधि २४ सै घण्टा कार्यालयबाटै निगरानी गरिरहेको अधिकारीले बताए । लेकसाईडका अन्य स्थानमा पनि सिसि क्यामेरा थप्ने प्रयास भैरहेको उनले बताएका छन् ।

Post a Comment

 
Top