0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका सबै धादिङवासीहरु एक भएमात्रै धादिङवासीमा आइपर्ने सबै खाले समस्याको समाधान गर्न सकिने एक कार्यक्रममा बोल्ने धादिङवासी हरुले जोड दिएका छन् । कार्यक्रममा समाजका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, गाविस इकाइका अध्यक्ष तथा राजनीतिक पार्टीका प्रमुखहरुले धादिङवासी पोखरामा जुनसुकै अवस्थामा रहेको भएपनि सबै एक हुनुपर्नेमा जोड दिएका छन्। धादिङ सम्पर्क समाजको नवों अधिवेशन पश्चात् पहिलो पटक एकै ठाउँमा उभिएका उनीहरुले समाजको नवौं अधिवेशनका क्रममा केही तिक्तता उत्पन्न भएका भएपनि त्यसलाई भुलेर एकै ठाउँमा आउनुको विकल्प नभएको उनीहरुले बताएका छन् । उनीहरुले भने–‘राजनीतिक आस्था, गाविस इकाइ तथा जुनसकै भूमिकामा भएपनि हामीहरु धादिङवासी हौं भन्ने धारणा जाग्नुपर्छ’, वक्ताहरुले भने–‘समाजको अधिवेशनका क्रममा जे–जस्तो असहज परिस्थिति उत्पन्न भएको भएपनि त्यसलाई भुलेर सबै पार्टी, समाजका अग्रजहरु तथा गाविस इकाइहरु एक हुनुको विकल्प छैन । धादिङ–पोखरा सम्पर्क समाज नलाङ इकाइले विजयादशी तथा दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक हरि अर्यालले धादिङवासीहरु एक हुनुको विकल्प नभएको बताए । उनले भने–‘राजनीतिमा आवद्ध, गाविस इकाइमा आवद्ध र समाजमा आवद्ध सबै हामी धादिङवासी नै हौं, समाजको अधिवेशनका क्रममा जे जस्तो भएपनि दुःखमा टुलुटुलु हेरेर बस्न कोही सक्दैनौं । त्यसैले भावनात्मक रुपमा भएपनि एक हुन जरुरी छ ।’ ‘धादिङवासीबीच मेलमिलाप नभए घाटा हुने हामी हामीलाई नै हो’–अर्यालले भने । समाजका पूर्व अध्यक्षद्वय रुद्र प्रसाद खनाल र कृष्णकुमार श्रेष्ठले धादिङ समाजको अधिवेशनका क्रममा उत्पन्न परिस्थितिलाई भुलेर एकतावद्ध हुनुको विकल्प नभएको बताए ।  कार्यक्रममा एमाले सम्पर्क सदनका अध्यक्ष वेनी पाठक, माओवादी केन्द्र समन्वय समितिका अध्यक्ष रेशम सिंखडा, कांग्रेस सम्पर्क सदनका उपसभापति यादु प्रसाद ढकालले राजनीतिक आस्थाका आधारमा जुनसुकै पार्टीमा आवद्ध भएको भएपनि त्यो राजनीति चुनावमामात्र हुने तर अन्य काममा नहुने स्पष्ट पारेका थिए । नलाङ इकाइका अध्यक्ष शम्भु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आगिन्चोक इकाइका अध्यक्ष हरि पन्त, नलाङ इकाइका उपाध्यक्ष रामप्रसाद दुवाडी र सचिव सरस्वती श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 

Post a Comment

 
Top