0
आफ्नै जन्मभूमिमा उच्च ओहदामा रहेर कर्म गर्न रहर सबैलाई हुन्छ तर अवसर कमैलाई मिल्छ । क्षेत्रीय प्रशासन कार्यालयमा प्रमुख बनेर सेवा गर्नु झनै ठूलो उपलब्धि हो । पोखरा २५ पुम्दी–भुम्दीका खगराज बराल पश्चिमाञ्चल क्षेत्रीय प्रशासकका रुपमा पोखरा आएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक रहेर सुर्खेतमा एक महिना कार्यररत बराल गत असोज २ गते सरुवा भएका हुन् । गोपीनाथ मैनालीको स्थानमा आएका बरालले यही १० गतेबाट कार्यभार सम्हालेका छन् । बराल त्यसअघि शिक्षा विभागका महानिर्देशक थिए । ४८ वर्षीय बराल २३ वर्ष अघि शिक्षण पेशाबाट निजामति सेवामा प्रवेश गरेका थिए । नविन माविमा २०४८ देखि ५१ सम्म शिक्षण गरे । २३ वर्षअघि कास्कीमा विद्यालय निर्देशकका रुपमा काम गरेका बराल रुपन्देही र बझाङमा पनि सोहि पदमा सेवा गरे । २०६३ मा शिक्षक तालिम केन्द्र दमौली र अमरसिंहमा कार्य अनुभव रहेको उनी २०६५ चैतमा अधिकृत स्तरबाट एकैचोटी सहसचिवमा बढुवा भए । बराल मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशक, शिक्षा विभागको निर्देशक, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, एसएलसी परीक्षा नियन्त्रक, शिक्षा मन्त्रालयका सहसचिव, शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक समेत भए । शैक्षिक पृष्ठभूमिका बरालले शिक्षा क्षेत्रकै बारेमा पाँच ओटा पुस्तक प्रकाशन गरेका छन् । शिक्षा सम्बन्धमा सय बढि आलेख विभिन्न राष्ट्रिय पत्रपत्रिका, बुलेटिनमा प्रकाशित छन् । उनी संगीतकला क्षेत्रमा पनि उत्तिकै सफल छन् । बरालका आठ वटा गीत रेकर्ड भएका छन् । श्रमिक बरालबाट संगीत क्षेत्रमा चिनिने उनले चार ओटा पुस्तक गीत सम्बन्धमै लेखेका छन् ।
कक्षा ३ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘असल बन’ शीर्षकको बालगीत बरालकै हो । आफ्नो जन्मभूमि पोखरामा यो पदमा आएर सेवा गर्न पाउँदा आफू निकै रोमाञ्चित भएको बरालले जनाए । क्षेत्रीय प्रशासक बरालले सरकारी कार्यालयबाट हुने सेवाप्रवाहमा ढिलाई तथा भ्रष्टाचारजन्य कार्यमा कुनै छुट नदिने भन्दै नत्र आफू एक्शनमा जाने बताए । उनले शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण मुख्य तीन विषयमा केन्द्रित हुने उल्लेख गरे । आफू पदमा रहँदा मातहतका सबै जिल्ला स्थित सरकारी कार्यालयको सेवा प्रवाहबारे निरन्तर अपडेट रहँदै नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रोत्साहन गर्ने सुनाए । चाडबाड नजिकिँदै गरेका बेला मूल्यवृद्धि, कृत्रिम अभाव, कालाबजारी गर्नेहरु मौलाउने भन्दै उनले यसतर्फ सचेत रहन र नागरिक ठगिएको महसुस भएमा कडा कदम चाल्न पछि नपर्ने बरालले चेतावनी दिए । उनले शिक्षा विभागको महानिर्देशक रहँदाा सुशासन, आचरण सुधारका सवाललाई अघि सारेको र त्यसलाई आफूले सधैं मनन गरेको बताए । एजेन्सी

Post a Comment

 
Top