0
गोल्डेन न्यूज संवाददाता
दशैं फूलपातीको दिन दिउसो एक बजे पोखराको चिप्लेढुङ्गा चोक नजिकै एक्कासी ठूलो आवाज आयो । आगो दनदनी बल्न थाल्यो । उछिट्टिएका आगोका झिल्काले सडकमा गाडी गुडाउने देखि आसपासका पसलेहरु पनि तर्सिए । फुटपाथमा बेच्न राखिएका केहि सामानमा क्षति पुग्यो । ऋषिराम इलेक्ट्रोनिक्स सेन्टरको केहि सामानमा समेत क्षति पुग्यो । तत्काल अग्नी नियन्त्रक ल्याएर आगो निभाइयो । वरपर जम्मा भएका मानिसहरु भुईमा निभिसकेका आगोका झिल्काहरु हेरेपछि आकाश तिर फर्किए । सबैको आखा भर्खरै जडान गरिएको सोलार प्यानलतर्फ थियो । वैकल्पिक उर्जाको लागि सडक बत्तीको रुपमा जडान गरिएको सेलार प्यानल जडान गरिएको भोलिपल्टै पड्किएको हो । सोलार प्यानलसँगै विद्युतको मुख्य लाईन पनि थियो । ‘धन्न अर्को विजुलीको तारमा आगोले भेटेन, नत्र ठूलो क्षति हुने थियो’–स्थानीय एक ब्यवसायीले भने । कतिपयले सोलारको गुणस्तरीयतामा प्रश्न उठाउँदै थिए । चिप्लेढुङ्गा चोकदेखि सिद्धार्थचोकसम्मको क्षेत्रमा १५ वटा सोलार प्यानल जडान गर्ने योजना अनुसार सौर्य सडक बत्ती जडान गरिएको थियो । तर जडान गरिएको भोलिपल्टै पड्किएपछि यसको गुणस्तरीयतामा प्रश्न उठेको छ । गुणस्तरहित सोलार जडान गरिएको भन्दै स्थानीय रुष्ट छन् ।
स्थानीय उपभोक्तको २५ प्रतिशत, नगरपालिकाको १० र ६५ प्रतिशत सरकारी अनुदानमा सोलार प्यानल जडान गरिएको हो । सो क्षेत्रमा १५ मध्ये ९ वटा जडान गर्न अझै वाँकी छ । जडान नहुदै पड्किएको बारे पोखरा उपमहानगरपालिकाका इन्जिनियर ध्रुब भट्टराईले भने ‘ पहिल्यै समस्या देखिएको थियो, तैपनि काम गर्छ कि भनेर जडान गरेको पड्किएछ’ सो प्यानलमा जडान पूर्व नै चार्च कन्ट्रोलरमा समस्या देखिएको उनले स्वीकारे । 
भट्टराईका अनुसार पोखराका विभिन्न २१ स्थानमा ३७३ वटा नयाँ सोलार जडानको काम भैरहेको छ । ड्यामसाईड, पहारी मार्ग, लालुपाते मार्ग, छोरेपाटन, ढिकालेथर, उत्तमटोल, अन्नपूर्णटोल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका क्षेत्रमा नयाँ पोल जडानको काम भैरहेको उनले बताए । उपभोक्ता, नगरपालिका र सरकारी अनुदान गरी कुल ५ करोड २० लाख लागतमा जडान गर्न लागिएको सौर्य बत्ती कात्तिक मसान्त भित्र संचालनमा ल्याउने लक्ष्य छ । त्यस्तै न्यूरोडका सौर्यबत्ती मर्मतको काम भैरहेको पनि भट्टराईले बताए । ‘न्यूरोडका सौर्यबत्ती मर्मतको लागि ब्याट्री फेर्ने काम भैरहेको छ’, उनले भने–‘तिहार अघिनै सञ्चालनमा आउनेछन् ।’ न्यूरोडमा मात्रै एक सय सौर्य बत्ती छन् ।

Post a Comment

 
Top