0
गोल्डेन न्यूज संवाददाता
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेको वडा प्रहरी कार्यालय बैदामलाई ‘स्मार्ट अफिस’ को रुपमा स्थापित गर्ने तयारी गरिएको छ । नेपालको पर्यटकीय राजधानी पोखरा र मूख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेको प्रहरी कार्यालयलाई प्रबिधिको प्रयोगले स्मार्ट कार्यालय बनाउने प्रयास गरिएको हो । ‘अहिले हरेक क्षेत्रमा प्रबिधिको प्रयोग बढेको छ ’, प्रहरी निरीक्षक मोहनमणि अधिकारीले भने–‘प्रहरीको शारीरिक उपस्थितिले मात्रै अपराध नियन्त्रण हुन सक्दैन त्यसैले प्रविधियुक्त हुनुपर्छ।’ सबैभन्दा पहिले प्रहरी कार्यालयलाई नै प्रबिधियुक्त बनाउनुपर्ने भएकाले सोहि अनुसारको काम भैरहेको उनले बताए । आफ्नो कार्यकालमा वडा प्रहरी कार्यालय बैदामलाई स्मार्ट अफिसको रुपमा नमूना प्रहरी कार्यालय बनाउने उनको अठोट छ ।

उनका अनुसार वडा प्रहरी कार्यालय बैदाममा अहिले थुनुवाको अभिलेख राख्ने कामलाई प्रविधिमैत्री बनाएर कम्प्युटरमा अभिलेख राख्ने गरिएको छ । ‘थुनुवाको कम्प्युटर अभिलेख, अफिस भित्रका सबै कम्प्युटरलाई आन्तरिक नेटवर्किङ, आन्तरिक टेलिफोन लाईन जडान लगायत बैकल्पिक उर्जाका लागि सोलार जडान गरिएको छ’–उनले भने । वडा प्रहरी कार्यालय बैदाममा अहिले पाँच वटा कम्प्युटर छन् । सबै कम्प्युटर एउटै नेटवर्कमा बाँधिएका छन् । लोडसेडिङका बेला हुने विद्युत अभावका लागि सोलार प्यानल जडान गरिएको छ । थुनुवाको कम्प्युटर अभिलेखको लागि छुट्टै सफ्टवेयर जडान गरिएको छ । थुनुवाको कम्प्युटर अभिलेख राख्दा पटके थुनामा पर्ने, फरार अभियुक्त समातिएको लगायतका पुराना रेकर्ड समेत तत्काल हेर्न सकिने प्रहरी निरीक्षक अधिकारीले बताए। थुनुवाको कम्प्युटर अभिलेखका लागि गोरेटो सफ्टवेयरका अनिल गुरुङ र निसाल गुरुङले सहयोग गरेको अधिकारीले बताए । नेपाल प्रहरीले केहि समय अघि ल्याएको प्रहरी मेरो साथी अवधारणबाट प्ररित भई उनीहरुले निःशुल्क सहयोग गरेका हुन् । यो सफ्टवेयरबाट कुन ब्यक्ति, कहाँबाट कहिले पक्राउ परेको हो र यसअघि उसको प्रहरी रेकर्ड छ कि छैन भन्ने पनि तत्काल थाहा हुन्छ’–अधिकारीले भने । त्यस्तै २४ सै घण्टा ब्याकअप सिस्टमका लागि सोलार जडान गरिएको अधिकारीले जानकारी दिए । कार्यालयलाई ब्यवस्थापनको काम अन्तर्गत ड्युटी अफिसरलाई सिधै नागरिकले भेट्न पाउने उनले बताए । त्यसका लागि ड्युटी अफिसरको रुमलाई कार्यालयको गेटसँगै रहेको भवनमा सारिएको छ । जहाँ जो कुनैले पनि सिधै ड्युटी अफिसरसँग भेट गर्न पाउने पिस पोखरा अनलाइनले उल्लेख गरेको छ । त्यस्तै लेकसाईडमा जडान गरेर बिग्रिएका सबै सिसी क्यामेरा निकालेर नयाँ जडान गरिएको अधिकारीले बताए । लेकसाईडका स्थानीयवासी र नेपाल प्रहरीको सक्रियतामा १९ लाख रुपैयाँ खर्चिएर जडान गरिएको १४ वटा सिसी क्यामेरा बिग्रिएको झण्डै एक बर्षपछि नयाँ जडान गरिएको हो । अहिले लेकसाईडमा ११ वटा सिसी क्यामेरा सञ्चालनमा छन् । नयाँ जडान गरिएको क्यामेरा उच्च प्रबिधियुक्त रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । पर्यटन वोर्ड, पर्यटन परिषद्, पर्यटन ब्यवसायीहरु को सहयोगमा नयाँ सिसी क्यामेरा जडान गरिएको हो । पर्यटकीय क्षेत्रमा खटिने प्रहरीलाई अन्तर्राष्ट्रिय भाषाको पनि ज्ञान हुनुपर्ने भएकाले प्रहरी कर्मचारीलाई अंग्रेजी भाषा तालिमको ब्यवस्था गर्न लागिएको समेत उनले बताए । त्यस्तै सिसि क्यामेरालाई लेकसाईडका अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको उनले सुनाए ।





Post a Comment

 
Top