0
गोल्डेन न्यूज संवाददाता
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पनि भ्रमण गर्ने हुँदा त्यसको तयारी बैठक मंगलबार पोखरामा बस्यो ।     भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको हो । नेपाल भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १९ गते पोखराको पनि भ्रमण गर्ने कार्यक्रम रहेकाले यसलाई भव्यताकासाथ सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको  संयोजकत्वमा मूल व्यवस्थापन सहयोग समिति गठन गरिएको छ । मूल व्यवस्थापन सहयोग समिति अन्तर्गत स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचार–प्रसार समितिलागयत गठन गरिएको छ । समितिमा पोखरा स्थित चार वटै सुरक्षा निकायका क्षेत्रीय प्रमुख, जिल्ला प्रमुख, स्थानीय विकास अधिकारी, पोखरा उप–महानगरपालिकाका, लेखनाथ नगरपालिकाका प्रमुख, निजी क्षेत्र, सामाजिक संघ–संस्थाका प्रमुख सदस्य रहेका छन् । भ्रमण तयारीका लागि पोखरा उप–महानगरपालिले संयोजन गर्ने गरी स्वागतद्वारा निर्माण, सौन्दर्यीकरण तथा सरसफाई उपसमिति, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको संयोजकत्व मा स्वागत ब्यवस्थापन उपसमिति, स्थानीय विकास अधिकारीको संयोजकत्वमा पूर्वाधार निर्माण उपसमिति र पत्रकार महासंघ कास्की संयोजक रहने गरी प्रचार–प्रसार उप–समिति गठन गरिएको छ । राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ बजेर ४५ मिनेटमा बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट सिधै खाना खानका लागि पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपराह्न ३ बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले बैठकमा जानकारी गराए ।


भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गरिसकेपछि राष्ट्रपति मुखर्जी सोहि दिन काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । यसअघि कात्तिक १९ गते नै राष्ट्रपति मुखर्जी काठमाडौँबाट जनकपुर जाने र त्यही दिन जनकपुरवाट काठमाडौँ फर्किने कार्यक्रम पनि रहेको क्षेत्रीय प्रशासक बरालले बताए । राष्ट्रपति मुखर्जीको भ्रमणलाई ध्यानमा राखेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षाको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन् । राष्ट्रपति मुखर्जीको भव्य स्वागतका लागि होटल ग्रान्ड देखि रामबजार स्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइने भएको छ । राष्ट्रपति मुखर्जीको सवारी हुने पथमा नेपाल र भारतीय झन्डा फहराइने कार्यक्रम छ । यसैगरी नेपालको परम्परागत मौलिक झल्कने खालका सांस्कृतिक झाँकी, बाजागाजा एवं अभिवादनबाट श्रद्धा एवं हार्दिकतापूर्वक राष्ट्रपति मुखर्जीको स्वागत गरिने कार्यक्रम रहेको छ । क्षेत्रीय प्रशासक बरालको संयोजकत्वमा भएको बैंठकमा नेपाली सेनाको पश्चिम पृतनाका निमित्त पृतनापति दिलीप विष्ट, सशस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र कुमार सिंह, गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र पोखरेल, राष्ट्रिय अनुसन्धान क्षेत्रीय प्रमुख रवीन्द्र पण्डित, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्याल सहभागी थिए ।  त्यस्तै पोखरा स्थित सम्बन्धित सबै सरकारी कार्यालयका प्रमुख, पर्यटन ब्यवसायी, नागरिक समाज एबं सामाजिक संघ–संस्थाका प्रमुखहरुको सहभागिता थियो । बैंठकले भारतीय राष्ट्रपतिको झण्डै तीन घण्टे पोखरा बसाइलाई ब्यवस्थित एबं भब्य बनाउने निर्णय गरेको छ ।

Post a Comment

 
Top