0
गोल्डेन न्यूज संवाददाता
पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रूपमा बढेको छ । पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग टीका थाप्ने चलनका कारण ढाकाटोेपीको माग अत्यधिक बढेको हो । तीन दशकयता पोखरामा ढाकाटोपीको व्यापार गर्दै आएका राजेशमान पालिखेले पछिल्ला समयमा युवा पुस्ताले ढाकाटोपी लगाउन छाडिसकेको बताए । उनले भने–“पछिल्ला वर्षमा ढाकाटोपी लगाउने चलन हराउँदै गएको छ ।’ विशेष गरी तिहार, अन्य चाडपर्व, विवाह, व्रतबन्धमा मात्र ढाकाटोपीको खोजी हुनेगरेको छ । तिहारको समयमा २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको पालिखेले बताए । वार्षिक एक करोड रुपैयाँसम्मको व्यापार हुने उनको दावी छ । उनका अनुसार सामान्यतः ३५ देखि पाँच हजार दुई सय रुपैयाँसम्मका ढाकाटोपी बिक्री हुने गरेको छ  । पोखरामा दौरा सुरुवाल लगाउनेतर्फ भने विस्तारै आकर्षण बढ्न थालेको छ । बालबालिकालाई ढाकाको दौरा सुरुवाल बनाएर लगाइदिने चलन बढ्दै गएको चिप्लेढुंगाकी ढाका पसल संचालिका कोकिला जोशीले बताइन । विवाह ब्रतबन्धलगायत कार्यक्रममा ढाकाका कपडाको खोजी हुने उनको भनाइ छ ।
पोखरामा विशेष गरी दमक, धरान, तेह्रथुम, बुटवल लगायतका ठाउँबाट ढाकाको कपडा आयात गरिन्छ । पाल्पाबाट आयात गरिने ढाकाको कपडाबाट चोलो, ब्लाउज, सल आदि निर्माण गरिन्छ । ठूलाबडा तथा मान्इजनबाट टोपी लगाएर टिका थाप्ने र आशिर्वाद लिने चलन भएपनि ढाकाटोपी नै लगाउनु पर्छ भन्ने कतै उल्लेख नरहेको संस्कृतिविद् सत्यमोहन जोशीको भनाइ छ ।
उनका अनुसार बङ्गलादेशको राजधानी ढाकाबाट ढाकाको कपडा बुन्ने प्रचलन सुरु भएको र त्यसले विस्तारै अन्य देशमा स्थान पाएको हो ।

Post a Comment

 
Top