0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको प्रथम अधिवेशन तथा पुस्तक परिचर्चा कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकार तीर्थराज अधिकारीको मुक्तक संग्रह बिरिमफुलको लोकार्पण गरे । प्रमुख अतिथि लेकालीले पछिल्लो समय भाषामा देखिएको अन्यौल हटाइ नेपाली भाषा बचाउनका लागि अनेसासले विभिन्न कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । साथै प्रमुख अतिथि लेकालीले ४२ बढी देशमा ९० बढी शाखा रहेको एक मात्र साहित्यिक संस्था भनेको अनेसास नै भएकाले यसको गरिमा बढाउन सबै च्याप्टरका पदाधिकारी जिम्मेवारी बोध गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । लोकार्पण गरिएको कृतिको परिचर्चा गर्दै डा. जगन्नाथ रेग्मीले अधिकारीका मुक्तक थोरै दोष र धेरै गुणले सजिएको उत्कृष्ट कृति रहेको बताए । समारोहमा अनेसास युकेका अध्यक्ष सुमल कुमार गुरुङले नेपाली स्रष्टालाई सबै भन्दा बढी नेपाल र नेपालीको माया रहने धारणा व्यक्त गरे । यस्तै अनेसास न्यूयोर्क च्याप्टरकी महासचिव शकुन ज्ञवाली, साहित्यकार भूूपनिधि पन्तले अनेसास गण्डकी अञ्चल समितिको अधिवेशनको सफलताको कामना गरे । सोही समारोह बीच गण्डकी समितिले लेकाली, गुरुङ र ज्ञवालीलाई सम्मान ग¥यो  । यस्तै अनेसास नेपाल च्याप्टरकातर्फबाट आजीवन सदस्यलाई प्रमुख अतिथि लेकालीले सदस्यताको प्रमाणपत्र र अनेसासको पिन वितरण गरेका थिए । सदस्यताका लागि १० जना स्रष्टाले संस्थाको विधान बमोजिम एक सय डलर तिरेर सदस्यता लिएका थिए । अधिवेशनबाट दुुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत गठन गरिएको छ । समितिको उपाध्यक्षमा देवेन्द्रबहादुर केसी, सचिवमा असफल गौतम, कोषाध्यक्षमा दुुर्गा न्यौपाने सर्वसम्मत चयन भएका छन् । यसैगरी समितिको सदस्यमा कृष्ण रानाभाट सारथि, कल्याण पन्त, एन जे सागर शाह, गोमा ढकाल र प्रविन पुन सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन संयोजक राधेश्याम लेकाली र शकुन ज्ञवाली सदस्य रहेको निर्वाचन मण्डलले अधिवेशन सम्पन्न गरेको थियो । यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ ।


Post a Comment

 
Top