0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरूको एकदिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताए । संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गरे। स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको सङ्ख्याले पनि विवाद ल्याउने दाबी उनले गरे।  मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरू गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताए । सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताए । नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस क्षेत्र नं १, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, काँग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, काँग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न काँग्रेसले पहल थाल्नुपर्ने बताएका थिए ।



Post a Comment

 
Top