0
गोल्डेन न्यूज संवाददाता
पोखरा रंगशालामा जारी पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको बि.बि.एस.टी टिमले हात पारेको छ । पुन समाज कास्कीलाई  ५८ का विरुद्ध ६२ को स्कोरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा बि.बि.एस.टी ले उपाधि संगै नगद ४० हजार ४ सय ४४ नगद हात पार्यो भने उपविजेता पुन समाज कास्कीले नगद २५ हजार ५ सय २५ प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी बि.बि.एस.टी का कर्मा गुरुङ्ग घोषित भए भने हाई स्कोररको उपाधि पुन समाज कास्कीका नोल बहादुर पुनले हासिल गरे । उनले प्रतियोगिता भर ५८ स्कोर गर्न सफल भएका थिए । विजयी टिम तथा खेलाडीहरु लाई नेपाल ओलोम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेन्डी लामा शेर्पा, बास्केटबल केन्द्रीय उपाध्यक्ष जुम गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्ग, प्रतियोगिताका संयोजक नारायण शर्मा, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त लगायतले कप, मेडल, प्रमाणपत्र, नगद वितरण गरेका थिए । समापन कार्यक्रम कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको थियो भने संचालन सचिव ध्वज कुमार गुरुङ्गले गरेका थिए । प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । प्रतियोगितामा ४० वर्ष माथिकाले मात्रै सहभागिता जनाएको आयोजकले जनाएको छ । पाथीभरा ओभरसिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको हो । पाथीभरा ओभरसिजले प्रतियोगिता गर्न २ लाख सहयोग गरेको छ ।



Post a Comment

 
Top