0
गोल्डेन न्यूज संवाददाता
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका विरूद्धमा संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै पोखरामा हस्ताक्षर संकलन गरिएको छ । शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा पोखराको सभागृहचोकमा हस्ताक्षर संकलन कार्य सम्पन्न भएको हो । सञ्जालका संयोजक ढाकाराम पौडेलले विधिको शासन भन्दा पनि दलिय भागबण्डामा नियुक्त भएका व्यक्तिहरूले शासन गरेका कारण अधिकारहरू पहुँचवाल वर्गमा मात्र सिमित भएको हुँदा हरेक नागरिकले यसको विरोधमा उत्रिनुपर्ने बताए ।कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जानकी शर्माले लोकतन्त्र स्थापित भईसकेपछि पनि दलिय भागबण्डाका कारण खराब आचरण भएका व्यक्तिहरू सत्तामा पुग्दा जनताले सास्ती भोग्नुपरेको बताईन् । शर्माले हरेक नागरिकले आफ्नो अधिकारको बारेमा सचेत हुनुपर्ने आवश्यकता रहेको बताईन् । हस्ताक्षर संकलन कार्यक्रममा मानव अधिकारकर्मी टेकनाथ बरालले लोकतन्त्र र विधिको शासन स्थापना गर्नका लागि सबै नागरिकहरु एकजुट हुनुपर्ने अन्यथा प्राप्त उपलब्धी समेत गुम्ने खतरा बढिरहेको बताए । हस्ताक्षर संकलन कार्यक्रममा मानव अधिकारकर्मी खगराज आचार्य, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बराल, संजालका पूर्व संयोजक विष्णु बराल, मानव अधिकार रक्षक संरक्षण एव्म प्रवद्र्धन केन्द्रका अध्यक्ष सरला कुमारी पाण्डे, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराका क्षेत्रीय संयोजक शिव खकुरेल, सयपत्री समाजका गिरधारी सुवेदी लगायत विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, कानुन व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी एवम् सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

Post a Comment

 
Top