0
गोल्डेन न्यूज संवाददाता
मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ति
(सोलार लाइट) प्रदान गरेको छ । करिब १५ करोड रुपैयाँ बराबरका सोलार लाइट प्रदान गर्ने सम्झौतामा सोमबार चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामिला विभागका निर्देशक मा क्विनसिन र पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सौर्य बत्ति परियोजनाका सहजकर्ता विश्वशंकर पालिखेको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । संघका अध्यक्ष पालिखेका अनुसार सौर्य बत्ति परियोजना अन्तर्गत प्राप्त वत्तिहरु पोखराको प्रवेशद्वार विजयपुरदेखि हल्लनचोक सम्म जडान गरिने छ । आउने अंग्रजी वर्ष २०१७ को जनवरीबाट सुरु हुने जडान कार्य एक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ । पोखरा उपमहानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी सहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ति परियोजनामा सहयोग गरेको हो । सोलार लाइट परियोजनाको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामला विभागका निर्देशक मा क्विनसिनले नेपाल सरकारको एक चीन नीतिप्रतिको प्रतिवद्धताको सह्राना गरे । नेपाल असल मित्र, सहयोगी र साझेदार भएको उल्लेख गर्दै उनले तिब्बतको सामाजिक आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताए । पोखरालाई प्रदान गरिएको सौर्य उर्जाबाट चल्ने वत्तिहरुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने उनको विश्वास थियो । कार्यक्रममा पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नेपाल र चीनबीचको लामो सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरसम्म विकास गर्ने दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिए । पोखरालाई सोलार लाइट प्रदान गरेकोमा उनले धन्यवाद पनि ज्ञापन गरे ।  सो अवसरमा मन्तव्य व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठको अवसरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारकोतर्फबाट प्राप्त सहयोग उल्लेखनीय भएको बताए। पोखरा उद्योग वाणिज्य संघको अवलोकन भ्रमण पश्चात भएको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरु अदक्ष भएको सन्दर्भमा चीन सरकारबाट व्यवसायिक तालीम केन्द्र निर्माणमा सहयोग हुन सके यो नेपाललाई धेरै फाइदा हुने बताए। यसको लागि जग्गाको व्यवस्था नेपाल सरकारले नै गर्ने उनको भनाई थियो । पोखरा उद्योग वाणिज्य संघका वैदेशिक सम्बन्ध विभागका संयोजक तथा कार्यसमिति सदस्य प्रकाशदेव पालिखेले संचालन गरेको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, कार्यसमिति सदस्य, पोखरा उपमहानर पालिकाका प्रतिनिधि, बस्तुगत संघका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सात सदस्यीय चिनीया टोलीले पोखरा रहँदा यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो टोलीलाई पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यको नेतृत्व संघका उपमहासचिव अर्जुन पोखरेलले गर्नु हुनेछ । यता, तिब्बतको वैदशिक मामिला विभागको सो टोलीसँग सोमबार नै पोखराका पर्यटनसँग आवद्ध विभिन्न संघ÷संस्थाका प्रमुख र प्रतिनिधिहरुले छलफल गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको समन्वयमा यहाँको माउण्ट कैलाश रिसोर्टमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरा प्रवद्र्धनको लागि चीन सरकारको तर्फबाट सहयोगको अपेक्षा गरेका थिए । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकहरुको वृद्धि भएको सन्दर्भमा भाषा कक्षा संचालन लगायतका क्षेत्रमा समेत चीनको सहयोग दुई पक्षीय सम्बन्ध मजबुत बनाउने कडी बन्ने उनीहरुको भनाइ थियो ।





Post a Comment

 
Top