0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी बृहत सफाई अभियानको १९ र २०औं श्रृंखला उत्साहपूर्वक सम्पन्न भएको छ । १८औं हप्ताको फिर्के–बुलौंदीखोला बृहत सफाई अभियामन ड्यामसाईड स्थित फेवाताल किनारमा सम्पन्न भए लगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाई कार्यक्रमलाई निरन्तरता दिनका लागि १९ औं हप्ताबाट पोखरा उपत्यका बृहत् सफाई अभियानमा रुपान्तरण गर्ने महत्वपूर्ण निर्णय भएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । १९औं हप्ताको सफाई अभियान पोखराको वडा नं. १ स्थित सांस्कृतिक सम्पदाको रुपमा परिचित गाइघाटबाट सुरुगरी झण्डै ४ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता एवं टोल विकास संस्था वडा समन्वय समिति पोखरा–१ का अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए । सांसद शारदा पौडेलको विशेष उपस्थितिमा पोखरा उपमहानगरपालिका कार्यालयका नवआगन्तुक कार्यकारी अधिकृत नवराज ढुंगानाले फोहोरमैला उठाएर कार्यक्रमको आरम्भ गरेका थिए । सफाई कार्यक्रममा वडा भित्रका आमा समूह टोल विकास संस्था वडा नागरिक मञ्च, सुखवती बौद्ध गुम्बा लगायतका विभिन्न संघ–संस्था र सामाजिक अभियान्ताहरुले ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका तर्फबाट १५ सय डिस्पोजल ग्लोब र सुखवती बौद्ध गुम्बाले सहभागिहरुलाई चियापानको व्यवस्था गरेका थिए । त्यसैगरी २० औं हप्ताको सफाई अभियान वडा नंं. १ स्थित हरिचोकदेखि बागबजार चोक, ट्याक्सी चोक, भिमकाली पाटन हुँदै टुँडिेलमा पुगेर समापन भएको थियो । सफाई अभियानमा झण्डै ७ टन फोहोर संकलन गर्दै वडावासीहरुलाई सार्वजनिक स्थलमा फोहोरमैला नफाल्न अनुरोध गरिएको नमूना आमा समूहका अध्यक्ष कल्पना बाँस्तोलाले जानकारी दिइन् ।




Post a Comment

 
Top